ओली–बालेनको टक्कर हुन लागेको जिल्लामा एआईजी डम्बर बिकले लिएर बिफ्रिङ

दमक । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.ले झापा जिल्लाको शान्ति सुरक्षा र निर्वाचन तयारीका विषयमा जिल्ला प्रहरी कार्यालय, झापासँग जानकारी लिएका छन् ।

शुक्रबार एआईजी बि.क.ले झापा प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै झापामा रहेका ५ वटा निर्वाचन क्षेत्रको शान्ति सुरक्षाका विषयमा जानकारी लिएका हुन् ।

एआईजी बि.क.द्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को शान्ति सुरक्षा, निर्वाचन तयारी, कर्मचारी व्यवस्थापन तथा कार्यसम्पादन सम्झौताको प्रगति विवरण लगायतका बिभिन्न विषयहरूमा अनुगमन तथा निरीक्षण गरिएको झापा प्रहरीले जनाएको छ ।

झापा जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरूसँग एआईजी बि.क.ले अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् । उनले झापामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी एंव निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

झापाको क्षेत्र नं. ५ राष्ट्रिय रुपमा निकै चर्चामा छ । यो निर्वाचन क्षेत्रमा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेका छन् ।

ओली र बालेन एकअर्काप्रति निकै आक्रामक देखिएका छन् । ओलीलाई हराउने भन्दै रास्वपाका नेता शाह काठमाडौंबाट झापा ५ मा झरेका छन् ।

झापा ५ लाई राष्ट्रिय राजनीतिमा इपीसेन्टरका रुपमा हेरिएको छ । यो क्षेत्रको शान्ति सुरक्षालाई विशेष चुनौतीका रुपमा प्रहरीले लिएको जनाइएको छ ।

Published : Saturday, 2026 February 21, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया