एजेन्ट र बाह्य शक्तिहरूको बढ्दो प्रभावले देश अभिभावकविहीन भयो, वीपीको कुरा मानौं : कांग्रेस नेता मल्ल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले पछिल्लो समय देखिएको राजनीतिक खिचातानीले गर्दा देश अभिभावक बिहीन भएको अनुभूत हुन थालेको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत नेता मल्लले भने, ‘अहिलेको राजनीतिक खिचातानी, दल र नेताहरूको व्यक्तिगत स्वार्थ, आफ्नो स्वार्थको लागि एजेन्ट बनेर बाह्य शक्तिहरूको बढ्दो प्रभाव देख्दा देश साँच्चै अभिभावकविहीन भएको महसुस हुन्छ ।’
उनले भने, ‘पुराना हुन् या नयाँ, कुर्सीको मोहमा वीपी कोइरालाको सिद्धान्त र देशको अस्तित्व भुल्दै गएको देखिन्छ ।’
‘इतिहासका त्यागी नेताहरूलाई पाखा लगाएर गरिएको यो परिवर्तन र रुपान्तरणले हामीलाई कता लैजाँदैछ ?’ उनले प्रश्न उठाएका छन् ।
‘आज नेपाली कांग्रेस र देश दुवै संकटमा छन् । जननायक वीपी कोइरालाले सधैं राष्ट्रिय मेलमिलापको कुरा गर्दा देशको माटो, सनातन संस्कृति र राजतन्त्रको अनिवार्य अस्तित्वलाई बुझ्नुभएको थियो,’ नेता मल्लले भने ।
‘अहिलेको विदेशी हस्तक्षेप र सांस्कृतिक विचलनबाट देश जोगाउने एकमात्र सूत्र भनेको पहिलो हिन्दू राष्ट्रको पुनःस्थापना जसले हाम्रो पहिचान र नेपालीको उद्धार गर्नेछ,’ उनले भने, ‘अर्को, संवैधानिक राजतन्त्र जसले देशलाई एउटा साझा अभिभावक दिनेछ ।’
‘यदि नेपाली कांग्रेसले वीपीको असली बाटो पच्छ्याउँदै राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा दृढताका साथ बोक्ने हो भने मात्र देश कांग्रेस र हिन्दूहरूको बाहुल्य भएको धार्मिक सनातन बच्छ,’ नेता मल्लले भने, ‘प्रजातन्त्रको वास्तविक सुन्दरता नै सबै शक्तिलाई समेट्नुमा छ ।’
उनले भने, ‘आजको यो दिनमा प्रजातन्त्र दिवस मनाइरहँदा मनमा एउटा प्रश्न उब्जिरहेको छ । के हामीले खोजेको प्रजातन्त्र यही हो ? जननायक वीपी कोइरालाले सधैं राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो । उहाँको स्पष्ट मान्यता थियो, देश बचाउन प्रजातन्त्र र राजतन्त्र मिलेर बस्नुपर्छ, नत्र वैदेशिक हस्तक्षेपले देश नै नरहन सक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया