महेन्द्रराजमार्गलाई बाइपासबाट बनाउन सक्ने तागत राख्ने मान्छे हुँ, ग्यारेन्टी गर्छु : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा बजारभित्र पर्ने पूर्वपश्चिम महेन्द्रराजमार्ग विस्तारको मापदण्डको विषयमा विवाद रहेको भन्दै बाइपासबाट राजमार्ग बनाउन आफू सक्षम रहेको बताएका छन् ।

शुक्रबार हेटौँडामा स्थानीयहरूसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा मुख्यमन्त्री बानियाँले केन्द्रमा निर्दलीय चुनावी सरकार भएका कारण हेटौँडाको जनताको पीडालाई बुझ्दै नबुझेर घर भत्काइदिएको बताए । दलीय सरकार भएको हुन्थ्यो भने समाधान निकालेर उचित निर्णय गर्ने अवस्था रहने उनले बताएका छन् ।

मुख्यमन्त्री बानियाँले भने, ‘महेन्द्रराजमार्गको कुरा छ । यो विषयमा केन्द्रित रहेर कुरा गर्न चाहन्छु । तीन तहको सरकारले एकअर्काको अस्तित्व स्वीकार गर्ने हो ।’

‘जनतालाई प्रत्याभूति हुने गरेर कार्य गर्नुपर्छ । जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने हो,’ उनले भने, ‘हेटौँडा बजारको महेन्द्रराजमार्गको बाटो १६ मिटर कायम गर्नुपर्छ म प्रतिपक्ष दलको प्रदेशको अघिल्लो कार्यकालमा रहँदा डोरमणि पौडेल मुख्यमन्त्री हुँदा तपाईले यसमा प्रभावकारी रुपमा काम गर्नुस् १६ मिटर कायम गर्न म प्रतिपक्ष दलको नेताको हैसियतले सकारात्मक सोँचले यो काम गर्नुस् भन्ने मान्छे हुँ ।’

मुख्यमन्त्री बानियाँले भने, ‘कि बाइपासबाट बाटो बनाऔँ । कसैको प्रश्न छभने म सुन्न तयार छु । बाइपासबाट एकैचोटी रातोमाटेमा निकाल्ने बाटो प्राविधिक दृष्टीकोणले बनाउन सक्ने तागत राख्ने मान्छे म हुँ । हिजो थिइन्, आज छु, भोलि बनाउँछु । यो पनि ग्यारेन्टी हो । यो बनाएर देखाउँछु । जति दिन रहन्छु राम्रो काम गर्छु । नरहेको दिन अर्कै कुरा हो ।’

‘हिजाको दिनमा दलीय सरकार हुँदा, चाहे जुनसुकै दलको होस्, दलीय सरकार हुँदा तपाईहरूको कसैको घर भत्किएन । दलको सरकार रहेन तपाईहरूको घर भत्कियो,’ मुख्यमन्त्री बानियाँले भने ।

‘जुनसुकै दल होस् मिलाएर अरु उपाय हुन्छ कि हुँदैन भनेर कानून, नियमले जे जे भने पनि व्यवहारिक रुपमा दलीय सरकार हुँदा तपाईहरूले पीडा पाउनु भएन । त्रास रहिरह्यो,’ उनले भने, ‘निर्वाचनमुखी सरकार आयो तपाईहरूको घर भत्कियो । हेटौँडामा महेन्द्रराजमार्गमा विवाद छ ।’

Published : Friday, 2026 February 20, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया