रविको काण्ड सेलाउन नपाउँदै बालेनको नागरिकता छानबिन गर्न गृह मन्त्रालयमा उजुरी

काठमाडौं । झापा क्षेत्र नं. ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन)को नागरिकता विवरणबारे छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।

काठमाडौं महानगरपालिका– ३१ का युवराज पौडेलले गृह मन्त्रालयलाई निवेदन दिँदै साहले नागरिकताको विवरण परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन् । अधिवक्ता समेत रहेका पौडेलको निवेदन ५४२७ नम्बरमा दर्ता भएको छ ।

निवेदन अनुसार साहले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट १५१२ नम्बरको नागरिकता लिएका थिए । उक्त नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको बताइएको छ । पछि मेयर निर्वाचित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा घर ठेगानासम्बन्धी विवरण फरक देखिएको दाबी निवेदनमा गरिएको छ ।

उजुरीमा नागरिकताको विवरण परिवर्तन गरिएको हो वा होइन भन्नेबारे सम्बन्धित फाइल तथा कागजातको अध्ययन गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ ।

निवेदक अधिवक्ता पौडेलले नेपाल नागरिकता ऐन २०६३ को दफा १२ अनुसार झुटो विवरण पेश गरेर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द हुन सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् ।

त्यसैले सम्बन्धित कागजात झिकाएर छानबिन गर्न र आवश्यक कानूनी कारबाही अघि बढाउन गृह मन्त्रालय समक्ष अनुरोध गरिएको छ ।

निवेदनमा आवश्यक परे नागरिकता रद्द गर्न तथा कानूनअनुसार कारबाही गर्नसमेत माग गरिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने समेत दोहोरो नागरिकता र राहदानी काण्डमा परिसकेका छन् । लामिछानेको नागरिकता र राहदानी काण्ड सेलाउन नपाउँदै रास्वपाका वरिष्ठ नेता साहको पनि नागरिकता काण्ड बाहिर आएको छ ।

सभापति लामिछानेविरुद्धको सहकारी ठगी र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्धा समेत चलिरहेको छ । तैपनि लामिछाने चितवन २ मा उम्मेदवार बनेका छन् ।

Published : Friday, 2026 February 20, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया