बालेन र रास्वपाविरुद्ध अनेरास्ववियुद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झन्डा जलाएको घटनाको विरोधमा काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ भृकुटीमण्डपस्थित आरआर क्याम्पसबाट अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारी विद्यार्थीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को पुत्ला पनि जलाएका छन् ।

सहकारी ठगी र संगठित अपराधका अभियुक्त समेत रहेका रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) दाङ आउने भएपछि बिहीबार साँझ रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाएका थिए । एमालेविरुद्ध नारावाजी गरेका थिए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रास्वपाले आरोपलाई अस्वीकार गर्दै आएको छ ।

अनेरास्ववियुका नेता, कार्यकर्ताले रास्वपाविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरूले एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग समेत गरेका छन् ।

Published : Friday, 2026 February 20, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया