रुपन्देहीमा कांग्रेसका उम्मेदवारहरू जिताउन र युवा, विद्यार्थी परिचालन गर्न नेता खाणलाई जिम्मेवारी

भैरहवा । नेपाली कांग्रेस, रुपन्देहीले पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी युवा, विद्यार्थीमा माहौल निर्माण गर्न नेपाल विद्यार्थी संघका पूर्वसभापतिहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वसभापति तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्लाका पाँटवटै निर्वाचन क्षेत्रको समन्वय गर्नेगरी जिम्मेवारी प्रदान गरेको हो ।

नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङ आफै क्षेत्र नं. ३ मा उम्मेदवार छन् । विद्यार्थीको लिगेसीमा समेत टेकेर जित निकाल्नेगरी प्रचार प्रसारमा लाग्न गुरुङले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, रुपन्देहीका सभापति रामकृष्ण खाणले पार्टीका उम्मेदवारलाई विजयी गराउनको लागि युवा विद्यार्थीमा भूमिका खेल्न नेविसंघका पूर्वसभापतिहरूलाई जिम्मेवारी दिइएको बताए ।

५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा त्यसै क्षेत्रका सभापति हीराबहादुर खत्री, क्षेत्र नं. २ मा महासमिति सदस्य तथा उद्योगी व्यवसायी चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा नेविसंघ, रुपन्देहीका पूर्वसभापति समेत रहेका पार्टीका क्षेत्रीय सभापति सुशील गुरुङ, क्षेत्र नं. ४ मा नेता आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा नेता भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।

पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउन सक्रिय, समन्वयात्मक र परिणाममूखि भूमिका खेल्नका लागि नेपाल विद्यार्थी संघका पूर्वसभापतिहरू हेमराज अर्याल, हरिध्वज मल्ल, फणेन्द्र शर्मा, मोहन शर्मा, शरद भट्टराई, दीपक पौडेल, शैलेन्द्र पन्थ, प्रकाश राना, जमुना ढकाल, विष्णुप्रसाद पोखरेल र मिलन थापालाई जिम्मेवारी सहित परिपत्र गरेको छ ।

पार्टीले दिएको जिम्मेवारी अनुसार उनीहरूले उम्मेदवार तथा निर्वाचन परिचालन समितिको समन्वयमा सम्बन्धित निर्वाचन क्षेत्र, पालिका तथा वडातहमा कार्यकर्ता समन्वय, मतदाता भेटघाट, घरदैलो कार्यक्रम सञ्चालन तथा युवा परिचालन गर्नेछन् ।

युवा विद्यार्थीलाई एकीकृत र उत्साहित गर्ने, भ्रामक समाचारको तथ्यका आधारमा प्रतिपाद गर्नेछन् ।

Published : Friday, 2026 February 20, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया