अमरगढीमा चुनाव बहिष्कार गर्ने चेतावनी

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् ।

उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना गर्दै प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरूलाई झुक्याएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

फोहोरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुरनजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । अहिले आएर सोही क्षेत्रलाई फोहोर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।

भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाइ छ ।

स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।

Published : Friday, 2026 February 20, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया