एमालेका पूर्वसांसद र पूर्वमन्त्रीसहितका नेता, कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
काठमाडौं । एमालेको रसुवाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ढकालको नेतृत्वमो झण्डै एक सय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा कांग्रेसमा स्वागत गरिएको छ ।
रसुवाबाट कांग्रेसमा प्रवेश गर्ने एमालेका नेता तथा कार्यकर्ताहरू स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू, साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन् ।
उनीहरूमध्ये धेरैले लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका थिए ।
पूर्वमन्त्री एवम् एमालेका नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश गरेका छन् । उनले २०७४ सालमा निर्वाचित सांसदको रूपमा राजनीतिक अनुभव हासिल गरेका छन् । यसअघि स्थानीय तहमा वडाध्यक्षको जिम्मेवारी पनि मानन्धरले सम्हालेका थिए ।
कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन् ।
रसुवामा भएको यो सामूहिक प्रवेशसँगै नेपाली कांग्रेसले अन्य जिल्लामा पनि संगठन सुदृढीकरण अभियान तीव्र पार्ने संकेत दिएको छ ।
विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको प्रवेशले पार्टीभित्र अनुभव र नेतृत्व सन्तुलन कायम राख्ने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया