संवैधानिक राजसंस्थामा सहमति जुटाउनुपर्छ : कांग्रेस सभापति शर्मा
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संवैधानिक राजसंस्थामा सहमति जुटाउनुपर्ने बताएका छन् ।
बिहीबार पोखरामा आयोजित कार्यक्रममा सभापति शर्माले संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र भनेकै कारणले देश असफल अवस्थामा पुगेको बताए । उनले भने, ‘यहि कारण देश अन्तर्राष्ट्रिय जगतको क्रिडास्थलमा परिणत भइरहेको छ । दिनप्रतिदिन अस्थिरताको अखडाको केन्द्र बनिरहेको छ ।’
सभापति शर्माले संवैधानिक राजसंस्थाको कुरा उठाएर देशमा अस्थिरता उत्पन्न गर्ने प्रयास भइरहेकाले त्यसलाई सम्बोधन गरेर जानुको विकल्प नभएको बताए । यसको समाधान नगरी देश संकटबाट ननिस्कने उनले ठोकुवासमेत गरे । धर्मको नाममा परम्परा खलबलिएको, गणतन्त्र र लोकतन्त्रका नाममा प्रजातन्त्र खलबलिएको र धर्मनिरपेक्षता ल्याउँदा सनातन धार्मिक स्वतन्त्रतासहित धर्म, संस्कृति र परम्पराको जग नै खलबलिएको उनले बताएका छन् ।
राजाले संवैधानिक परिधि तोडेकै कारण राजतन्त्र फालेर गणतन्त्र आए पनि अहिले आवश्यक्ता महसुस भएकाले फर्काउनुपर्ने उनले बताएका छन् ।
‘ज्ञानेन्द्र शाह राजा पनि आफू, प्रधानमन्त्री पनि आफू बन्न खोजेकाले जनताले राजतन्त्र फाले,’ सभापति शर्माले भने, ‘तर सिद्दान्ततः विरासत हामीले पोलेको हुनाले अहिलेको अस्थिर अवस्था आएको हो, अब यसको समाधानको उपाय भनेको विरासतमा फर्किने हो । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता र संवैधानिक राजतन्त्रका सर्वसहमतीको आधारमा विरासत फर्काएपछि मात्रै अस्थिरता हटेर स्थिरता आउँछ ।’
त्यसका लागि गोलमेच सम्मेलन वा सर्वदलीय सहमती जे को आवश्यक्ता हो त्यसैका आधारमा सहमति खोज्न सकिने उनको भनाई छ । तर, राजाले पनि संवैधानिक व्यवस्था तोड्न नसक्ने व्यवस्था गरेर संवैधानिक राजसंस्था राख्ने विषयमा सहमति खोज्नुपर्नेमा सभापति शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया