रविका सहकारी ठगीका प्रमाणहरू गगनद्वारा सार्वजनिक, चितवनमा मात्रै ११ करोड ७० लाख ठगी
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबीसहित अदालती कागजात र चेकहरूको विवरण सार्वजनिक गरेका हुन् ।
‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु,’ थापाले भने, ‘यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन् ।’
थापाले चितवन र रुपन्देहीका अदालतमा रहेका मिसिलहरूलाई उद्धृत गर्दै लामिछानेको नाममा करोडौं रुपियाँ ऋण प्रवाह भएको बताए ।
थापाले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट आएको रकम खर्चेको र आफ्नै हस्ताक्षरबाट चेकहरू भुक्तानी गरेको देखिएको बताए ।
‘चितवनको अदालतको रेकर्ड अनुसार रवि लामिछानेको नाममा ११ करोड ७० लाख रुपियाँ गोर्खा मिडियामा गएको देखिन्छ र उहाँ आफैँले हस्ताक्षर गरेका ४१४ वटा चेकहरू फेला परेका छन्,’ थापाले भने ।
बुटवलको सुप्रिम सहकारीबाट पनि बिना धितो २ करोड रुपियाँ लामिछानेको व्यक्तिगत नाममा ऋण प्रवाह भएको थापाले बताएका छन् ।
थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा संलग्न रहेको बताए ।
‘उहाँले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिन्छ,’ थापाले भने, ‘कम्पनीबाट अलग भएको भनिएको मिति पछि पनि सयौँ चेकमा उहाँको हस्ताक्षर निरन्तर रहेको भेटिएको छ ।’
थापाले यी सबै तथ्यहरू सार्वजनिक दस्ताबेजका रूपमा उपलब्ध रहेको र जोसुकैले सर्वोच्च अदालतको वेबसाइटमा गएर हेर्न सक्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया