धिमालले जिते इको पानल चेसको उपाधि
काठमाडौं । रापिड १७०० रेटिङ मुनिको नेपाल इको पानल चेस फर अल चेस प्रतियोगिताको उपाधि भरत धिमालले उपाधि जितेका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न प्रतिस्पर्धामा मोरङका धिमालले उपाधि जितेका हुन् । ९औं चरणसम्म चलेको प्रतिस्पर्धामा भारत तथा नेपालका ६० जिल्लाबाट खेलाडीहरू सहभागी भएका थिए ।
धिमाल ७.५ अंक बनाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । रेटिङ १६८३ भएका भरतले उपाधिसँगै नगद रू.१० हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतिस्पर्धाको अन्तिम परिणाम पश्चात् पाँच जना खेलाडीहरूले समान ७.५ अंक जोडे पनि टाइब्रेकका आधारमा इटहरीका नारायणहरि श्रेष्ठ द्वितीय तथा दमकका उज्वल दाहाल तृतीय स्थानमा रहे ।
यससँगै अनरेटेड नारायणहरि श्रेष्ठले नगर रु. ७ हजार र १६८८ रेटेड उज्ज्वल दाहालले नगद रु. ५ हजार पुरस्कार, मेडल एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी १६७८ रेटेड टोखा काठमाडौंका आवाश तिवारी चौथो हुँदै नगद रु. ४ हजार र १६५६ रेटेड डाँछी, काठमाडौंका अमृत नगरकोटी पाँचौं स्थानमा रहँदै नगद रु. ३ हजार हात पारेका छन् ।
शीर्ष दशभित्र खेल अन्त्य गरि पुरस्कृत प्राप्त गर्नेमा क्रमशः १६९६ रेटेड संखु, काठमाडौंका रमेशबीर माली, १६७६ रेटेड नवलपरासीका अजिज क्षेत्री, भोजपुरका अन रेटेड विशाल राई, भारतका १६३५ रेटेड एआईएम आलोक प्रियदर्शी तथा भारतकै १६३७ रेटेड आनन्द शेखर परेका छन् ।
विधागततर्फ पुरस्कृत हुनेमा १६ सय रेटिङतर्फ गोरखाका अपिल गुरुङ, १५ सय रेटिङमा काठमाडौंका दीपन मैनाली, यूवा १६ वर्षमा हर्षवर्धन राठी, यूवा १४ तर्फ अभिलाष भण्डारी, यूवा १२ साहस श्रेष्ठ, भेट्रान ५५ वर्षमाथि पञ्चकुमार साहु उत्कृष्ट बने ।
महिलातर्फ दुई पटकका वोमन नेपाल च्याम्पियन सिन्दिरा जोशी प्रथम तथा नवीन खेलाडीतर्फ सुहितमान श्रेष्ठ पुरस्कृत भए ।
विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल इको पालनका निर्देशक ई. कृष्णभक्त दुवालले नगद रु. ५१ हजार पुरस्कार वितरण गरेका छन् । उनले नयाँ तथा उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रेटिङ प्रतियोगितामा अनुभव सँगाल्ने अवसर प्रदान गर्न मद्दत पुगेको बताए ।
कार्यक्रमका संयोजक एवं आयोजक थापाथली पार्क चेस क्लबका अध्यक्ष सानुराज बज्राचार्यले प्रतिस्पर्धात्मक वातावरणबीच सम्पन्न प्रतियोगिताले नेपाल चेसको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
स्पर्धाका योजनाकार एवं प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाइजुले चेस खेल वृत्तका सबै सरोकारवालाहरूले प्रायोजक पहिचान गरि योगदान पुर्याउन आह्वान गरेका छन् । उनले विशेषत नयाँ प्रतिभा पहिचान गर्न तल्लोस्तरका खेलाडीहरूबीच निरन्तर कडा प्रतिस्पर्धा गरिरहनुपर्ने बताए ।
थापाथली चेस पार्कको प्राङ्गणमा सम्पन्न दुई दिने प्रतिस्पर्धामा आईए मनोज घिमिरे, फिडे आर्विटर सोराज ताम्राकार, एनए असुन राजकर्णीकार लगायतले योगदान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया