अग्रजहरूको बलिदानीपछि आन्दोलन सफल भयो, राजनीतिक स्वतन्त्रता हासिल गरेका छौं : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गरेर मुख्यमन्त्री बानियाँले भने, ‘देशमा लोकतन्त्र प्राप्ति एवम् राष्ट्रियताको संवर्द्धनका लागि विभिन्न समयमा भएका संघर्षहरूमा जीवन आहुति दिनुहुने महान् शहीदहरूप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
जहानियाँ, निरङ्कुश शासनविरूद्व बलिदानी पूर्ण संघर्षको परिणामस्वरूप वि.सं.२००७ सालको आन्दोलन सफल भए पश्चात् आधारभूत मानवअधिकारको बहाली भई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको मुख्यमन्त्री बानियाँले बताएका छन् ।
‘प्रजातान्त्रिक आन्दोलनको यस महत्वपूर्ण दिनमा नेपालमा लोकतन्त्र प्राप्तिका लागि हालसम्म सबै खाले सङ्गर्षका क्रममा भएका घाइते, अपाङ्ग साथै बेपत्ता पारिनुभएका सम्पूर्ण प्रजातान्त्रिक सेनानीहरूको अमूल्य योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ बानियाँले भने ।
‘हामी विगत सात दशक यताका सबै खाले संघर्ष र आन्दोलनहरूबाट प्राप्त उपलब्धिको रूपमा संसदीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा छौं,’ मुख्यमन्त्री बानियाँले भने, ‘यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको छ ।’
‘प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण काल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक, रूपान्तरण सहित आम जनताको
जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको बागमती प्रदेश सरकार, बागमती प्रदेशको विकास र समृद्धिका लागि दृढ रहेको विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ ले हामीबीच संविधानको मर्म र भावना अनुसार सामाजिक सद्भाव कायम गरी राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सद्वीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढून प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री बानियाँले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया