शहीदहरूले हाम्रो लागि सपना देखेका थिए, त्यो सपना अधुरो रहँदासम्म हाम्रो जिम्मेवारी रोकिँदैन : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गरेर तरुण अध्यक्ष गुरुङले प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भने, ‘आज प्रजातन्त्र दिवसको अवसरमा सबैभन्दा पहिले हामी प्रजातन्त्रको लागि आफ्नो जीवन आहुति दिनु भएका शहीदहरूलाई नमन गर्न चाहन्छौं ।’
‘उहाँहरूले देखाएको साहस, बलिदान र संघर्षकै कारण आज हामी स्वतन्त्र नेपाली हौं,’ तरुण दलका अध्यक्ष गुरुङले भने ।
‘प्रजातन्त्र केवल उत्सव मनाउने दिन होइन । जनताको अधिकारको मोल बुझ्ने, भ्रष्टाचार र बेथितिविरुद्ध चुप नबस्ने, न्याय र समानताका लागि अझ दृढ रहनुपर्ने दिन हो,’ अध्यक्ष गुरुङले भने ।
‘शहीदहरूले हाम्रो लागि सपना देखेका थिए । न्यायपूर्ण समाज, सुशासन र सबैका लागि समान अवसर,’ उनले भने, ‘त्यो सपना अधुरो रहँदासम्म हाम्रो जिम्मेवारी रोकिँदैन ।’
‘शहीदहरूको बलिदानलाई सम्मान गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणमा एकजुट बनौँ,’ तरुण अध्यक्ष गुरुङले भने, ‘देशका हरेक नेपालीमा जागरूकता, इमानदारी र जिम्मेवारी रहनेछ भने मात्र हामीले उहाँहरूको सपना पूरा गर्न सक्छौं । प्रजातन्त्र दिवसको सबैमा हार्दिक शुभकामना ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया