दमौलीको विरासत जोगाउन कांग्रेसले जित्नुपर्छ : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका नेता एवम् तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले दमौलीको ऐतिहासिक विरासत, लोकतान्त्रिक पहिचान र आधुनिक विकास यात्रालाई निरन्तरता दिन कांग्रेसको जीत अपरिहार्य रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका वडा नं. २ मा प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै नेता भट्टराईले विगतको गौरवलाई आत्मसात् गर्दै कांग्रेस नयाँ सोंच, नयाँ नेतृत्वशैली र जनउत्तरदायी प्रतिबद्धतासहित अघि बढेको बताए ।

उनले भने, ‘दमौली केवल व्यापारिक केन्द्र होइन, यो लोकतन्त्रका आन्दोलनहरूको धरोहर हो । २००७ सालपछिका हरेक परिवर्तनकारी आन्दोलनमा दमौली अग्रपंक्तिमा रह्यो ।’

‘२०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२÷६३ को ऐतिहासिक परिवर्तनले यस क्षेत्रलाई राष्ट्रिय राजनीतिक मानचित्रमा स्थापित गरेको छ,’ नेता भट्टराईले भने ।

दमौली बजारको गुरुयोजना, व्यवस्थित नक्सांकन र पूर्वाधार विस्तार कांग्रेसकै नेतृत्वमा सम्भव भएको नेता भट्टराईले बताएका छन् ।

नेता भट्टराईले अहिलेको कांग्रेस विगतका कमजोरी सच्याउँदै संगठनात्मक रूपले सुदृढ, नीतिगत रूपमा स्पष्ट र जनताप्रति जवाफदेही बनेर आएको बताए । उनले भने, ‘सदरमुकामको व्यवस्थित विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र युवामैत्री कार्यक्रम हाम्रो प्राथमिकतामा छन् ।’

तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले वर्तमान राजनीतिक अन्योलका बीच स्थायित्व, आर्थिक चलायमानता र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न कांग्रेसको सशक्त उपस्थितिको आवश्यकता रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेस परिमार्जित र परिपक्व भएर आएको छ । व्यवसायी र आम नागरिकको भरोसा पुनः काँग्रेसमै केन्द्रित हुँदैछ ।’

वडा सभापति टुकराज हमाल दमौलीको ऐतिहासिक पहिचान जोगाउँदै समृद्ध तनहुँ निर्माणका लागि यसपटक अत्यधिक मतसहित कांग्रेसलाई विजयी गराउन आह्वान गरेका छन् ।

Published : Tuesday, 2026 February 17, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया