सेवा, सुविधा बढाउन माग गरेर हुम्लामा निर्वाचन प्रहरीद्वारा प्रदर्शन

हुम्ला । निर्वाचन सुरक्षाका लागि खटाइएका निर्वाचन प्रहरीले सेवा, सुविधा न्यून भएको गुनासो गर्दै हुम्लामा प्रदर्शन गरेका छन् ।

मंगलबार निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय, हुम्लाको मूल गेटअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । आफ्ना सेवा–सुविधा कटौती गरिएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएको जनाएका छन् ।

निर्वाचन प्रहरीले जोखिमपूर्ण क्षेत्रमा काम गर्दा समेत तोकिएको भत्ता, आवास र खानाको उचित व्यवस्था नभएको तथा आएको रकमसमेत कटौती गरिएको बताएका छन् ।

उनीहरूले दुर्गम भौगोलिक अवस्था, कडा चिसो र यातायातको अभावका कारण ड्युटी निर्वाह गर्न निकै कठिन भइरहेको जनाएका छन् ।

सरकारले उपलब्ध गराउने भनिएको पोशाक, न्यानो कपडा, दैनिक भत्ता र बसोबास व्यवस्थामा समेत कमजोरी रहेको उनीहरूको आरोप छ ।

‘हामी निर्वाचन सुरक्षामा चौबीसै घन्टा खटिएका छौँ । न्यूनतम सुविधा नहुँदा काम गर्नै गाह्रो भएको छ,’ आन्दोलनमा सहभागी निर्वाचन प्रहरीले भने ।

आन्दोलनरत निर्वाचन प्रहरीले सम्बन्धित निकायसमक्ष सेवा–सुविधा सुधार गर्न माग गरेका छन् । माग पूरा नभए थप कडा आन्दोलनका गर्ने चेतावनी पनि दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, हुम्लाले भने समस्याबारे जानकारी आएको र आवश्यक समन्वय भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरी कार्यविधि–२०८२ अनुसार पाउने सेवा, सुविधा सम्बन्धित व्यक्तिको बैंक खातामै जाने व्यवस्था रहेको बताएका छन् ।

पोशाक र तालिम अवधिमा १० दिनको तालिमका क्रममा गरिएको खाना–नास्ता खर्चसम्बन्धी विषयलाई लिएर गलत बुझाइका कारण विवाद उत्पन्न भएको रेग्मीले बताए ।

Published : Tuesday, 2026 February 17, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया