बानेश्वरबाट होस्टल सञ्चालिका लागुऔषधसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट होस्टल सञ्चालिका ४५ वर्षीया मायाकुमारीदेवी मिश्रलाई पक्राउ गरेको छ ।

पक्राउ परेकी मिश्र सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ घर भएकी हुन् । उनले बानेश्वरको कात्यानी चोकमा न्यू कस्यप ब्वाईज होस्टल सञ्चालन गर्दै आएकी छिन् ।

मिश्रको होस्टलबाट प्रहरीले ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । केही दिनअघि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मार्दा होस्टलको काउन्टरमा खैरो हेरोइन भेटिएको थियो ।

आरोपी मिश्रविरुद्ध प्रहरी वृत्त नयाँ, बानेश्वरले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

Published : Tuesday, 2026 February 17, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया