देश बर्बाद बनाउने, जनतालाई दुःख दिनेलाई बंगलादेशमा जनताले हराइदिए, बालेनबाट चल्दैन : ईन्द्र बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्थानीय तहको जनप्रतिनिधि भएका बेला कार्यसम्पादन सबैभन्दा कमजोर गर्ने बालेन्द्र साहबाट देश चल्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस युवा परिचालन समितिले आयोजना गरेको बृहत युवा भेलालाई सम्बोधन गर्दै सभापति बानियाँले कांग्रेसका जनप्रतिनिधिहरूले नेतृत्व गरेका महानगरपालिकाहरूले कार्यसम्पादनमा राम्रो काम गरेको बताए ।
उनले भने, ‘बालेन स्थानीय निकायको जनप्रतिनिधि हुँदा कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका छन् । बालेन साहलाई हेर्नुस् ६ वटा महानगरमध्ये सबैभन्दा पछाडि छन् ।’
‘४४ प्रतिशत मात्रै काम गरेका छन् । कांग्रेसले जितेका विराटनगरको नागेश्वर कोइराला र ललितपुरको चिरीबाबु महर्जनले धेरै राम्रो काम गरेका छन् । बालेनबाट देश चल्दैन,’ बानियाँले भने ।
उनले भने, ‘काठमाडौंमा बालेनले २५ अर्ब बजेटमध्ये ११ अर्ब खर्च गरेका छैनन् । फेसबुक र गुगलबाट देश बन्दैन । कालो चस्माले जनताको दुःख देख्दैन ।’
कांग्रेसले अब भूगोलमा काम गर्ने हो । फेसबुकमा काम गर्नेहरू र भ्रम सिर्जना गर्नेहरू गाउँ र बस्तीमा छिर्दै भण्डाफोर गर्दै उनीहरूलाई छाडेर हामी भूगोलतिर लाग्न जरुरी छ । जनताको मनको भूगोलमा कांग्रेस बस्नुछ ।
मुख्यमन्त्री समेत रहेका सभापति बानियाँले सामाजिक सञ्जालमा जनतालाई भ्रममा पार्ने कार्यहरू भएको भन्दै त्यसलाई चिर्न युवाहरू भूगोलमा जानुपर्ने बताए ।
उनले भने, ‘बागमती प्रदेशका १३ जिल्लाको भूगोलमा गएर सामाजिक सञ्जालको भ्रम चिर्दै जनताको बीचमा विश्वास र यथार्त कुरा लिएर जान जरुरी छ । कांग्रेस भनेको यथार्थ हो । झुठ र भ्रमलाई जनताको बीचको अन्याविरुद्ध हामी लड्नु छ । यो बेला एकढिक्का भएर जानुपर्छ ।’
उनले भने, ‘हामी जनताको बीचमा जाँदा बाटामो बसेर कुरा गर्ने होइन । डाटामा हेरेर कुरा गर्ने हो । नयाँ हौँ भन्नेले जनतालाई हुने नहुने कुरा गरेर भ्रममा पार्दै छन् । जनताको दिमाग फिनिन घुमाएको छ । जनताको दिमाग घुमाउने र फिनिन घुमाउनेको दिन अब धेरै लामो छैन ।’
सभापति बानियाँले बंगलादेशमा जनतालाई भ्रममा पार्ने, देश सिध्याउने र जनतालाई दुःख दिनेहरूलाई जनताले निर्वाचनमा हराइदिएको बताए ।
उनले भने, ‘बंगलादेशमा देखिसकिएको छ । देशलाई बर्बाद गर्नेहरूलाई जनताले भोट हाल्दैनन् भन्ने कुरा, देश र जनतालाई बर्बाद गर्नेलाई जनताले छोड्दैनन् भन्ने कुरा, गरिव जनताको सहकारीको पैसा लगेर जनताको पसिना खानेलाई जनताले छाड्दैनन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया