‘माया भनेकै यस्तो होला’बाट निर्देशनमा रेखाको वापसी, दिल पनि नायकमा कम्ब्याक
काठमाडौं । ‘माया भनेकै यस्तो होला’ चलचित्रबाट अभिनेत्री रेखा थापा पुनः निर्देशनमा फर्किएकी छिन् ।
आइतबार काठमाडौंमा शिवरात्रि पर्वको अवसरमा विशेष कार्यक्रम गरेर अभिनेत्री रेखाले ‘माया भनेकै यस्तै होला’लाई घोषणा गरेकी हुन् । रेखा करिब ८ वर्षपछि फिल्म निर्देशनमा फर्किएकी छिन् ।
‘माया भनेकै यस्तो होला’ फिल्म रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ । यसअघि रेखाले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छिन् ।
‘दीया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने ‘माया भनेकै यस्तो होला’मा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई समावेश गरिएको छ । नायकको दिल श्रेष्ठको प्रमुख भूमिका रहनेछ । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह नायिकाको रुपमा देखिनेछन् । नायक दिल श्रेष्ठ पनि लामो समयपछि चलचित्रमा फर्किएका छन् ।
‘माया भनेकै यस्तो होला’मा अभिनेता मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, दिल श्रेष्ठ, विशाल पहारी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतको अभिनय रहनेछ ।
फिल्मको निर्माण घोषणासँगै दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा त्रिकोणात्मक प्रेम सम्बन्ध झल्काइएको छ । अर्को पोस्टरमा बाबु–छोराको आत्मीयता देखाइएको छ ।
यसले प्रेम सम्बन्धमा आउने उतारचढाव र सन्तानको कर्तव्यलाई मुख्य कथावस्तु बनाइएको ‘माया भनेकै यस्तो होला’ले संकेत गरेको छ । निर्माण पक्षले कथावस्तुबारे औपचारिक रूपमा थप जानकारी सार्वजनिक गरेको छैन ।
हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको ‘माया भनेकै यस्तो होला’मा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । ध्रुव लम्सालको लेखन रहेको फिल्ममा चलचित्र पत्रकार राजन घिमिरे को–अर्डिनेटरका रूपमा संलग्न छन् ।
‘माया भनेकै यस्तो होला’लाई आगामी तीजमा प्रदर्शन गर्ने लक्ष्यसहित फिल्मको छायांकन हुनेछ । ‘माया भनेकै यस्तो होला’को छायांकन फागुनको दोस्रो साताबाट शुरू गर्ने तयारी रहेको निर्देशक एवम् अभिनेत्री रेखाले बताएकी छिन् । उनले छायाँकनको आन्तरिक तयारी भइरहेको बताइन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया