नेपाल समूह चरणबाट बाहिरियो, वेस्ट इन्डिजसँग पराजित

काठमाडौं । नेपाल आईसीसी पुरूष टी–२० विश्वकप–२०२६ को समूह चरणबाट बाहिरिएको छ ।

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपाल वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको हो । नेपाल यसअघि इंग्ल्यान्ड र इटालीसँग पनि पराजित भएको थियो । लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

वेस्ट इन्डिजले टस जित्दै बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो । नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो । पावरप्लेमा नेपालले यस विश्वकपकै खराब सुरूवात गर्‍यो । नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २२ रनमात्र जोड्न सफल भयो ।

सुरूआतमा दबाबमा परेको नेपालले सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच २६ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी पाएपछि सम्मानजनक स्कोरतर्फ अघि बढेको हो । यो साझेदारी नेपालका लागि टी–२० विश्वकप इतिहासकै सातौं विकेटको सबैभन्दा ठूलो साझेदारीसमेत बनेको छ ।

दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । सुवास खकुरेलपछि विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । उनले ४७ बलमा ५८ रनको उत्कृष्ट पारी खेले । ओपनर कुशल भुर्तेल १ रनमै आउट भए भने आसिफ शेखले ११ रन बनाए ।

अन्त्यतिर सोमपाल कामीले १५ बलमा २६ रनको आक्रामक पारी खेल्दै स्कोर मजबुत बनाए । बलिङमा जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, आकेल होसेन, म्याथ्यु फोर्ड, स्याम्पर जोसेफ र रोस्टनन चेजले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटीङमा वेस्ट इन्डिजले १ सय ३४ रनको लक्ष्य पछ्याएको थियो । ओपनर ब्राण्डन किङले १७ बलमा २२ रन जोड्दै पभेलियन फर्किए । बलिङमा नेपालबाट नन्दन यादवले एक विकेट लिए पनि बाँकी बलर विकेटविहीन रहे । वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङ २२ रनमा आउट भए । साइ होपले सर्वाधिक ६१ रन जोडे । सिमरन हेट्मायरले ४६ रनको योगदान गरेका थिए । जितसँगै वेस्ट इन्डिजले सुपर ८ मा स्थान पक्का गरेको छ ।

Published : Sunday, 2026 February 15, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया