ललितपुर १, गोदावरीमा नेकपाकी निर्वाचित जनप्रतिनिधिसहितका नेताहरू नै कांग्रेसमा प्रवेश

चापागाउँ । ललितपुरको गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य बिना नगरकोटीसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विभिन्न तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार गोदावरी नगरपालिका वडा नं. २, विशंखुनारायणमा आयोजित कार्यक्रममा नेकपाकी नेतृ बिना नगरकोटीसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरिएको हो । कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार उदयशम्शेर राणा र बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री मीनकृष्ण महजर्नले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा दलित वडा सदस्य उम्मेदवार निता बिसुङ्खे, विशंखु नारायण खानेपानीका अध्यक्ष राजन विष्ट, स्थानीय समाजसेवी दिनेश विष्ट र युवा संघ विशुङ्खुनारायणका पूर्व अध्यक्ष सनम खत्री रहेको बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री महर्जनले बताएका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेस नेता एवम् उम्मेदवार राणाले गोदावरीका विभिन्न वडाहरूबाट जनप्रतिनिधि र स्थापित नेताहरू नै कांग्रेसमा आएकाले आफ्नो जित सुनिश्चित भइसकेको बताए ।

बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री महर्जनले देशैभरि कांग्रेस प्रवेशको लहर चलेकाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए ।

निर्वाचनको मुखमा गोदावरी क्षेत्रका स्थापित युवा शक्ति र जनप्रतिनिधिहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै ललितपुर १ मा कांग्रेसको चुनावी माहोल बढ्दै गएको छ ।

Published : Saturday, 2026 February 14, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया