लोकतान्त्रिक मूल्य र आदर्शलाई सशक्त बनाउन औपचारिक रूपमा कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन आह्वान गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसले भनेको छ, ‘राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावहरूलाई पार्टी हार्दिक अनुरोध गर्दछौं ।’

‘राजनीतिक चेतना र स्पष्ट दृष्टि सहित नेपाली कांग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘यस ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा, चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना, प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनु हुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंच हो,’ कांग्रेसले भनेको छ, ‘यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ; पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ ।’

कांग्रेसले भनेको छ, ‘देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोंच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छभन्ने हाम्रो ठोस विश्वास छ ।’

Published : Friday, 2026 February 13, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया