वैकल्पिक भनिएका शक्तिहरूको शिर र पुच्छरको अत्तोपत्तो छैन, कांग्रेससँग तुलना हुँदैन : डा.महत

नुवाकोट । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरू बलियो स्थितिमा रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा.महतले कांग्रेसका उम्मेदवार र कार्यकर्ताहरू जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने पनि बताए ।

नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका नेता डा.महतले वैकल्पिक भनिएका दलहरूको शिर र पुच्छर नभएकाले कांग्रेससँग तुलना नहुने बताए । उनले भने, ‘वैकल्पिक भनिएका शक्तिहरूको शिर र पुच्छरको अत्तोपत्तो छैन । कहाँबाट आउँछन, कहाँ हराउँछन् पत्तो छैन । सामाजिक संजालको प्रभावले उहाँहरू आइरहनु भएको छ ।’

‘हामीसँग संगठन छ, इतिहास छ । लामो समयदेखि जनतासँग जोडिरहेका छौं । दिगो रुपमा काम गरिरहेका छौं र अस्तित्वमा छौं,’ डा.महतले भने, ‘७५ वर्षको इतिहासमा धेरै चुनौतिहरूको सामना गरेका छौं, उतारचढाव व्यहोरेका छौं । त्यही कारणले कांग्रेस टिकेको छ ।’

‘नयाँ हुँदैमा राम्रो हुने होइन । हामी सुखदुख र अफ्ठयारो अवस्थामा साथमा छौं त्यसैले हामी यस पटक पनि थप बलियो रुपमा स्थापित हुनेछौं,’ उनले भने ।

डा.महतले आफू उर्जामन्त्री वा अर्थमन्त्री हुँदा साथै विभिन्न चरणमा काम गरेर देखाइसकेकाले यस पटक पनि मतदाताले रोज्ने बताए । ‘म प्रत्यक्ष निर्वाचन नलडे पनि धेरै काम गरेको छु । परिपक्व, इमान्दार र काम गर्नसक्ने व्यक्तिको पहिचान बनाइसकेको छु । त्यसैले मतदाताले मलाई रोज्नेछन्,’ उनले भने, ‘गारोसारो र अफ्ठयारो अवस्थामा पनि डा.महतले काम गर्छ भन्नेमा नुवाकोटवासी विश्वस्त छन् ।’

नुवाकोटको विकासमा वितेको १० वर्ष कांग्रेसको प्रतिनिधित्व नभएकाले काम नभएको बताउँदै उनले आफूले १० बर्षको क्षतिपूर्ति दिनेगरी आफ्नै अगुवाइमा विकासका लागि करिब सात अर्ब जति विनियोजन गराएको जानकारी दिए ।

उनले भने, ‘यतिबेला आश्वासन दिन सजिलो छ । कुलो र कुरो जता लगे त्यतै मोडिन्छ । यसबारे मतदाता सचेत छन् । हाम्रै अगुवाइमा नुवाकोटमा धेरै काम भएको छ । १० बर्ष हाम्रो प्रतिनिधित्व नहुँदा कामै भएन । त्यसको क्षतिपूर्ति कांग्रेसले दिलाउने प्रयासमा छ ।’

‘सडक पूर्वाधारका क्रममा ककनीको बाटो हालत थियो, धुलो र हिलोबाट सबैलाई हैरानी दिएको थियो । त्यो बाटोमा एक अर्ब २० करोड विनियोजन गरेर धेरै काम भएको छ, गगंटेबाट गोल्फू भन्ज्याङ जाने बाटोमा एक अर्ब ३३ करोड सुनिश्चित मैंले नै गरेकाले ठेक्का लागेर काम अघि बढिसकेको छ,’ डा.महतले भने ।

‘त्यो बाटोले दुवै क्षेत्र एवम सिन्धुपाल्चोकसँग जोड्ने र काठमाडौंसँगको दूरी छोटो बनाउनेछ । कृषि, पर्यटन र व्यवसायमा सहज हुनेछ,’ उनले भने, ‘छहरे–टोखा बाटो जिर्ण थियो, त्यसका लागि म अर्थमन्त्री भएका बेला आठदश करोड विनियोजन गरेर तत्कालै काम अघि बढाएर हाल धेरै सहज भएको छ । ओखरपौवादेखिको बाटोमा पनि ११ करोड विनियोजन गरेर सहज बनाएको छु ।’

आफ्नै पहलमा तीनमुखे झोलुङ्गे पुलको काम अघि बढाएको साथै पन्चकन्याकै छहरेदेखि घलेगाउँसम्म जाने बाटोमा १५ करोड लगानी गरेकाले धेरै सहज बनाएको छ । चौघडाको वाहुनबेसीसम्म जाने पुल निर्माणले आवात जावतमा सहज भएको उनले बताए । सिंचाइ क्षेत्रमा ठूलो लगानी भित्र्याएकाले कृषकहरुलाई धेरै सहज भएको उनले बताए ।

Published : Thursday, 2026 February 12, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया