रुपन्देही २ का कांग्रेस उम्मेदवार पौडेलद्वारा वडा प्रचार कार्यालय स्थापना
बुटवल । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं. २ मा वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मूल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि कांग्रेसको जित अनिवार्य रहेको बताए । उनले पौडेललाई जिताउने लक्ष्यसहित ठोस रणनीतिका साथ अभियान अघि बढाइएको बताए ।
गिरीका अनुसार प्रचारप्रसार कार्यक्रम सुरु हुनु अघि नै क्षेत्रका २३ वटै वडामा वडास्तरीय प्रचारप्रसार कार्यालय स्थापना अन्तिम चरणमा पुगेको छ ।
सोही क्रममा बुधबार बुटवल उपमहानगरपालिकाको वडा नं. ९ र १२ मा वडास्तरीय प्रचार कार्यालय उद्घाटन गरिएको छ ।
रुपन्देही २ मा कांग्रेसका उम्मेदवार पौडेलले कांग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्ने बताए । उनले रुपन्देही–२ को आर्थिक, सामाजिक र औद्योगिक विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसका लागि पार्टीका नेता, कार्यकर्ता मात्र होइन, सम्पूर्ण मतदातालाई आफूलाई विजयी गराउन उनले अपील गरेका छन् ।
२००७ सालयता मुलुक संकटमा पर्दा कांग्रेसले नै निकास दिएको स्मरण गराउँदै पौडेलले वर्तमान चुनौतीको समाधान पनि कांग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया