अख्तियारमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आईजीपी कार्कीद्वारा पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई सम्मान गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूलाई बधाई तथा सम्मान गरेका हुन् । पुरस्कृत हुनेमा एसएसपी वीरबहादुर बुढा लगायतका प्रहरी कर्मचारीहरू रहेका छन् ।

अख्तियारको ३५औं स्थापना दिवसको अवसरमा आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आईजीपी कार्कीले आफ्नो व्यावसायिक ज्ञान एवम् लगनशीलताको उच्च प्रदर्शन गर्दै खटिएको ठाउँमा अनुसन्धानको क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पदानको मूल्याङ्कनको आधारमा पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी संगठनको तर्फबाट हार्दिक बधाई दिएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले अख्तियारको उद्देश्य पूर्ति गर्दै राष्ट्रलाई सुशासनतर्फ डो¥याउन उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

उनले आगामी दिनमा समेत थप व्यावसायिकता प्रदर्शन गर्दै इमानदारिताका साथ अझ कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

Published : Wednesday, 2026 February 11, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया