भृकुटीमण्डपमा देउवाको अपमान गरे, उनकै तस्बिर राखेर चतुरबहादुरले भोट मागे

बैतडी । शेरबहादुर देउवानै नेपाली कांग्रेसको सभापति भइराखे उनको अनुहार देखाएर निर्वाचनमा जान नसकिने अभिव्यक्ति दिँदै आएका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष एवं बैतडीबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दले अहिले उनै देउवाको फोटो ब्यानरमा राखेर भोट मागिरहेका छन् ।

सभापति देउवालाई पदबाट अपदस्थ गर्न र अपमान गर्ने कार्यमा गगन थापालाई साथ दिएका चन्दले चुनाव जित्न सभापति देउवाकै तस्बिर आफ्नो चुनावी प्रचार सामग्रीमा राखेका छन् ।

चन्दले आफ्ना चुनावी अभियानका व्यानरहरूमा एकातिर देउवा र अर्कातिर आफ्नो फोटो राखेर समाजिक सञ्जाल मार्फत मत मागिरहेका छन् । माघ २७ गते मंगलबार बैतडीबाट कञ्चनपुरमा बसाइँसराई गरेर बसेका बैतडेलीहरूका लागि आयोजना गरेको निर्वाचन केन्द्रित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पनि चन्दले व्यानरमा देउवाको फोटो प्रयोग गरेर मत मागेका छन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बेला घर जलाइएका र भौतिक रुपमा आक्रमणमा परेका देउवा दम्पतीको स्वास्थ्य लाभको कामना समेत नगरेर नेपाली कांग्रेस, बैतडीका सभापति समेत रहेका चन्दले देउवालाई नै सभापति मानेर मत माग्न जनतामाझ जान नसक्ने अभिव्यक्ति दिएका थिए ।

भृकुटीमण्डपमा भेला अर्थात् कथित विशेष अधिवेशनमार्फत गगन थापालाई सभापति बनाए बापत चन्दले बैतडीमा नेपाली कांग्रेसको टिकट पाएका छन् ।

पुराना अनुहारले निर्वाचनमा जान नसकिने भन्दै चन्दले गत महिना भएको गगन समूहको भेलालाई चन्दले समर्थन गर्दै सम्बोधन समेत गरेका थिए । देउवाको अनुहारबाट नेपाली कांग्रेसले चुनाव नजित्ने भन्दै लोकतन्त्रका लागि सात दशक लामो योगदान गरेका र सुदूरपश्चिमको राजनीतिका बलियो अभिभावक देउवालाई अपमानजनक ढंगले पार्टीको सभापतिबाट हटाउने खेलमा संलग्न चन्दले चुनाव जित्न उनै देउवाको फोटोको सहारा लिएपछि कांग्रेसका नेता र कार्यकर्ता नै जिल परेका छन् ।

मंगलबार कञ्चनपुरमा भएको चन्दको मतदाता भेटघाट एवं अन्तर्क्रिया कार्यक्रममा भेटिएका एकजना नेपाली कांग्रेसका क्रियाशील सदस्य राजेन्द्र भट्टले भने, ‘चतुर चन्दले सधै सभापति देउवाको विरोध गर्नु भयो । १४ औं महाधिवेशनमा पनि देउवालाई सहयोग नगरि शेखर कोइरालाको समर्थक बस्नु भयो । गत महिना विशेष अधिवेशन गर्न हस्ताक्षर अभियान चलाउनु भयो । अहिले टिकट पाए पछि जनताको आँखामा छारो हाल्न देउवाको फोटो लगाएर मत माग्न लाज लाग्नु पर्ने हो । ’

नेता भट्टले भने, ‘चन्दले चार वर्ष पहिले आफू नेपाली कांग्रेस बैतडीको सभापति जित्न पनि आफ्नो चुनावी व्यानरमा देउवाको फोटो छापेर सबैलाई अचम्मित बनाएका थिए ।’

चन्दको यस किसिमको दोगल्ला किसिमको चरित्रका कारण बैतडीमा देउवा समर्थक नेता तथा कार्यकर्ता आक्रोसित छन् । बैतडीमा देउवा समर्थक नेता कार्यकर्ताले सहयोग नगरे चन्दले चुनाव जित्न सहज नहुने बैतडी कांग्रेसका नेताहरूले बताएका छन् ।

२०७४ सालमा नेपाली कांग्रेसको टिकट नपाए पनि बैतडीका नेपाली कांग्रेसको अवसान भनेर समाजिक सञ्जालमा स्टाटस लेखेका चन्दको भमिकाप्रति देउवा पक्षीय नेता तथा कार्यकर्ता मात्र नभएर आम मतदाता पनि चन्दको भूमिकाप्रति खुशी छैनन् । चन्दले गत महिना उम्मेदवार सिफारिस गर्दा देउवा पक्षीय नेताहरू डा.उत्तरबहादुर ऐेर, नरबहादुर चन्द र नन्दराज भट्टको नाम समावेश नगरेर आफ्नो नाम मात्र सिफारिस गरेपछि बैतडीमा देउवा पक्षीय नेताहरूले चन्दलाई खुलेर समर्थन गर्न नसकेको स्थानीयको बुझाई छ ।

कांग्रेसका उम्मेदवार चन्दले प्रेम चन्द, देवराज जोशी, शिवराज भट्ट, दीपेन्द्र चन्द सहितको आफ्नो भजनमण्डलीलाई पछाडि लगाएर प्रचारमा हिडे पनि देउवा समूहका नेता तथा कार्यकर्ताको साथ नपाएका कारण नेपाली कांग्रेसको पक्षमा बैतडीमा माहौल बन्न सकेको छैन ।

देउवालाई अपमानजनक तरिकाले हटाएपछि आक्रोसित कार्यकर्ताहरूले देउवाको अनुहारबिना सुदूरपश्चिममा मात्र नभएर देशभरि नै नेपाली कांग्रेसले चुनाव नजित्ने दावी गरिरहेका छन् ।

चन्दले टिकट पाएपछि देउवा समर्थकको मतबिना निर्वाचन नजित्ने भएपछि देउवाको तस्विर र आफ्नो तस्विर राखेर चन्दले प्रचार सामग्री बनाएका हुन् ।

चतुरबहादुर चन्द बैतडीबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । अहिलेसम्म देउवाले कसैलाई पनि रुखमा मत हाल्ने वा नहाल्ने केही भनेका छैनन् ।

देउवालाई भृकुटीमण्डप भेलाबाट गगन समूहले सभापति पदबाट अपदस्त गरेपछि सुदूरपश्चिमबासीकै मन दुखेको छ ।

Published : Wednesday, 2026 February 11, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया