वीरगञ्जमा तस्कर र व्यापारीहरूद्वारा सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण, केही प्रहरी घाइते

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारी र तस्करहरूले सांघातिक आक्रमण गरेर घाइते बनाएका छन् ।

सोमबार आदर्शनगरस्थित विनोद साह कानु सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली र वीरगञ्ज भन्सार कार्यालयको टोलीले संयुक्त रुपमा छापा मार्न गएको थियो । प्रतिकार गर्न भेलामा भएका व्यापारी र तस्करहरूले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेका हुन् । व्यापारी र तस्करहरूको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । व्यापारीहरूले हानेको ढुंगाले लागेर सशस्त्र प्रहरीको गाडीको सिसा पनि फुटेको छ ।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार राजश्व छलेर भित्र्याइएको सामान गोदाममा भण्डारण गरेर राखिएको सूचना सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो । सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीकै कमाण्डमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली आदर्शनगरमा पुगेको थियो । सशस्त्र प्रहरीले गोदाममा खानतलासी गर्नका लागि प्रकृया सुरू गर्न खोजेपछि व्यापारी र तस्करहरूले बिलबिजक आफूहरूसँग भएपनि सशस्त्र प्रहरीले अनावश्यक रुपमा दुःख दिन थालेको भन्दै विवाद गरेका थिए ।

सशस्त्र प्रहरीले गोदामको ढोकाको ताल्चा फुटाउन खोज्दा व्यापारी र तस्करहरूले सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमण गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको छ ।

तस्कर र व्यापारीहरूले सशस्त्र प्रहरीहरू सवार दुईवटा गाडीमा बाँसको भाटा र ढुंगाले हानेर क्षति पुर्‍याएका छन् ।

छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट साडी, कुर्ता–सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2026 February 9, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया