ललितपुरका सोम आले उपाधि होडमा

जावलाखेल । नरबहादुर कर्मचार्य स्मृति र्‍यापिड रेटिङ १९ सय मुनिको चेस प्रतियोगितामा ललितपुरका सोम आलेले पहिलो दिन सम्पन्न चार चरणका सबै खेल जितेर उपाधि ओडमा रहेका छन् ।

स्व.नरबहादुर कर्मचारीको स्मृतिमा आयोजित दुई दिने स्पर्धामा १८१८ रेटेड सोम आलेले क्रमशः सुनभ ओझा, मिसन पराजुली, सजल न्यौपाने र बिजेश राजकर्णिकार माथि जीत दर्ता गरेका हुन् ।

ललितपुर महानगर वडा नम्बर ११ स्थित आल्को हिटीमा चलेको प्रतिस्पर्धामा १८९७ रेटेड मिसन दाहाल, १९५६ रेटेड हेमराज भण्डारी, भारतका १८११ रेटेड शुभम कुमार, अनरेटेड प्रशान्त गुरुङ र १८३० रेटेड दीपक महर्जन समान ४ अंक जोडेर संयुक्त रूपमा अग्रता लिन सफल भएका छन् ।

फिडे कोड ४६१९७८ अन्तर्गत १५७ जना खेलाडी सहभागि मध्ये विराटनगरका १८९८ रेटेड ज्वाला इम्बुङ, मकवानपुरका १८१० रेटेड फुर्वालामा, दोलखाका १८६९ रेटेड राजिव कार्की, भक्तपुरका १८०१ रेटेड हर्कबहादुर चोङ्बाङ र काठमाडौँका १८१८ रेटेड सुरज सिंह समान ३.५ अंक बनाएर संयुक्त दोस्रो स्थानमा छन् ।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालन भइरहेको नरबहादुर कर्मचारी स्मृति चेस खेलका विजेताले कुल नगद पुरस्कार रु १ लाख ७१ हजार प्राप्त गर्नेछन् ।

भारतीय र नेपाली खेलाडीबीच अब्बल खेलाडीले नगद रु.२५ हजार, द्वितीयले १० हजार, तृतीय ८ हजार, चौथोले ७ हजार पुरस्कार हात पार्नेछन् । पाँचौं देखि दशौंसम्मका विजेताले समान नगद ६ हजार पाउने छन् ।

विभिन्न विधागत पुरस्कृत हुनेमा उत्कृष्ट महिला शीर्ष तीन, उत्कृष्ट स्थानीय शीर्ष तीन, उत्कृष्ट नव प्रवेशी शीर्ष तीन, सिनियर खेलाडी ५५ वर्ष र ६० वर्षमाथि, उत्कृष्ट रेटेड १६ १७ र १८ सय, उत्कृष्ट युवा छात्र छात्रा ८, १०, १२, १४ र १६ वर्ष उमेर समूहका गरि ३४ जना खेलाडि पुरस्कृत हुनेछन् ।

ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोजकुमार खड्गीले ३० वर्षपछि वडामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल खेल आयोजना भइरहेको जानकारी गराउँदै ३० वर्ष अगाडि कुम्भेश्वरमा यस्तै खालको प्रतियोगिता पटक पटक गरेको स्मरण गराए ।

कार्यक्रममा पूर्व जिल्ला विकास समितिका अध्यक्ष माधव पौडेल, महासङ्घका प्रवक्ता राजु ताम्राकार, अन्तर्राष्ट्रिय रेफ्री ज्ञानेन्द्र खाइजु, फिडर आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 February 7, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया