दाङका कांग्रेस उम्मेदवार जिताउन र दङ्गालीसँग भोट माग्न काठमाडौंमा युवा भेला

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरू भेला भएका छन् ।

शनिबार काठमाडौंको पुतलसीसडकस्थित शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौं युवा भेलाले हरिश भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन समेत गरेको छ ।

भविष्यमा नेपाली कांग्रेस दाङ काठमाडौं सम्पर्क समितिमा रूपान्तरण गर्ने र तत्काल चुनाव केन्द्रित गतिविधिमा सक्रिय सहभागी हुने भेलाले निष्कर्ष निकालेको छ ।

दाङबाट काठमाडौं आएर अध्ययनरत एवं विभिन्न पेशा तथा व्यवसायमा आबद्ध झण्डै डेढ सयभन्दा बढीको भेलालाई संबोधन गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले अहिले लोकतन्त्रमाथि खतरा रहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसजन एकजुट हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचार प्रसारमा केन्द्रित हुन आग्रह गर्दै सम्भव भएसम्म दाङ पुग्न आग्रह गरेका छन् ।

नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी माहोलबारे चर्चा गर्दै सबैको साथ र सहयोगले आगामी निर्वाचनमा सफलता हासिल हुने बताए ।

कांग्रेसका युवा नेता हरिश भण्डारीले आगामी दिनमा पनि यसैगरी भेला र छलफल गरी दाङको चुनावी माहोलका सँगसँगै विकास निर्माणका सवालमा पनि बहसहरू चलाउने बताएका छन् ।

अहिलेको चुनाव सामाजिक सञ्जालका बहसले पनि प्रभाव पार्ने भएकाले युवा तथा विद्यार्थी नेताहरूले सचेत भएर लाग्नु पर्ने बताएका छन् ।

चुनावमा दाङ क्षेत्र नम्बर १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट युवा महासमिति सदस्य किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार छन् ।

Published : Saturday, 2026 February 7, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया