ललितपुरमा राप्रपा, कम्युनिस्ट पार्टी लगायतका नेता, कार्यकर्ताहरु कांग्रेसमा प्रवेश
चापागाउँ । ललितपुरको गोदावरी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली युवा नेता एवं गत स्थानीय तह निर्वाचनका वडाध्यक्षका उम्मेदवार सचिन केसीसहित दुई दर्जनभन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा ५ सय ५७ मत प्राप्त गरी झरुवाराशीमा लोकप्रिय छविका भएका केसीसहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । पहिलो स्थानीय निर्वाचनमा २ सय ३७ मत ल्याएका स्वतन्त्र उम्मेदवार ईश्वर बिष्ट र एमाले झरुवाराशिका पूर्व ईकाइका सचिव युगल केसी समेत कांग्रेसमा समाहित भएका छन् ।
नवप्रवेशीहरूलाई कांग्रेसका नेता उदयशम्शेर राणा, बागमती प्रदेश सभाका सदस्य एवम् कांग्रेसका नेता मीनकृष्ण महर्जन लगायतका नेताहरुले कांग्रेसमा स्वागत गरेका हुन् ।
यसैबीच, नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा सिलवाल १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेका छन् । विशेष महाधिवेशन गरेर नयाँ दृष्टि र नयाँ नेतृत्वसहित कांग्रेस अगाडि आएका कारण पार्टीमा प्रवेश गरेको सिलवालले कार्यक्रममा बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया