अर्बौं घोटालाका नाइके तत्कालीन महानिर्देशक जेलभित्र बस्नुपर्ने, धरौटीमा छाड्न अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने बिशेष अदालतको आदेशलाई सदर गरेको छ ।
बिशेषको आदेशविरुद्ध अधिकारी सर्वाेच्च गएकोमा शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेषको आदेश सदर गरेको हो ।
नलिञ्चोकको हेलिपोर्ट निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । बिशेष अदालतले गत मंसिर २१ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपियाँ भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो । सर्वाेच्चको आदेशसँगै अब बिशेष अदालतबाट मुद्दाको फैसला नहुँदासम्म उनी कारागारमै बस्नुपर्ने भएको छ । अधिकारी डिल्लीबजार कारागारमा छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारमा पनि तत्कालीन महानिर्देशक अधिकारीलाई प्रतिवादी बनाइएको छ । अधिकारीसँग पाँच लाख रुपियाँ धरौटी माग भएको छ । अधिकारीको सम्पत्ति लगायत अन्य भ्रष्टाचार प्रकरणमा पनि आयोगले छानबिन गरिरहेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अधिकारीले १० अर्बभन्दा धेरै रकम भ्रष्टाचार र घोटाला गरेको सार्वजनिक लेखा समितिले समेत ठहर गरिसकेको छ । समितिले अधिकारीलाई कारबाही सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान गरि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया