आईजीपीद्वारा प्रहरीका प्राथमिकताहरू पहिचान गरी गुणस्तरीय कार्यसम्पादन गर्न निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आईजीपी कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्न निर्देशन दिएका छन् । वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।

कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिएका छन् ।

ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवम् आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने बताए ।

हिरासत व्यवस्थापनमा थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने उनले बताए । कार्यसम्पादन सम्झौताको समीक्षाद्वारा आ–आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरी आगामी दिनमा असल अभ्यासहरूलाई आत्मसाथ गरी कार्य गर्नुपर्ने आईजीपी कार्कीले बताए ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।

प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक अवधिका प्रमुख उपलब्धिहरू, कार्यसम्पदान सम्झौता कार्यान्वयनका चुनौतीहरू, प्रगती प्रतिवेदनमा देखिएका समस्याहरू र कार्यसम्पदान सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रहरू लगायतका विषयवस्तुहरू समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Published : Friday, 2026 February 6, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया