नेपालको झण्डा काँधमा राखेर सिंहदरबार जलाउने कार्य नेपालीको हुनै सक्दैन : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपालको झण्डा काँधमा राखेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य नेपालीको हुनै नसक्ने बताएका छन् ।

शुक्रबार शहीद दिवसको अवसरमा शहीद स्मारक हेटौँडामा आयोजना भएको शहीद दिवस २०८२ समारोहलाई सम्बोधन गर्दै बानियाँले पछिल्लो समय भएका केही अराजक गतिविधिको आलोचना गरेका छन् । उनले भने, ‘नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाहरूबाट जोगिन र मुलुकलाई समृद्ध बनाउन सिङ्गो राष्ट्र र राजनीतिक दलहरूलाई एकजुट हुन आह्वान गर्दछु ।’

उनले शहीदको सपना साकार पार्न अब व्यवस्था परिवर्तनमा अल्झिनु भन्दा पनि यही व्यवस्थाभित्र जनताको जीवनस्तर र अवस्था बदल्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेपालमा अब राणा र राजा फालेर जनताको सर्वोच्च व्यवस्था गणतन्त्र स्थापना भइसकेकोले थप राजनीतिक परिवर्तनका लागि कसैले शहीद हुनु नपर्ने बताए ।

उनले शहीदको त्याग र बलिदानबाट पछिल्लो समय प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले सबै जातजाति, धर्म र समुदायको अधिकार रक्षा गर्ने हुँदा अब यहि व्यवस्थाको रक्षा गर्दै समृद्धिको यात्रामा अघिबढ्नुपर्ने बताएका छन् ।

Published : Friday, 2026 January 30, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया