बालेन देश दौडाहामा रहेका बेला रविलाई रुपन्देही अदालतबाट झट्का

बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले प्रतिवादी लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिनेगरी गरेको निर्णय कार्यान्वयनका लागि परेको निवेदन कार्यान्वयन गर्न अदालतले अस्वीकार गरेको हो ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गराएर निर्वाचनमा छाती खोलेर जाने योजनामा रहेका रास्वपाका सभापति लामिछानेलाई तत्कालका लागि ठूलो झट्का लागेको छ । लामिछानेले महामन्यायाधीवक्ता कार्यालय र सुशीला कार्की नेतृत्वको सरकारलाई दवावमा पारेर आफ्नो मुद्दा फिर्ता लिन लगाउने प्रयास गरेको भन्दै आलोचना भइरहेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीलाई यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गरी पाऊँ भनी जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेश गरेकोमा रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार सर्वोच्च अदालतमा त्यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्र पेश गर्नू भन्ने आदेश भएको छ ।

माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकाले त्यसको अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्र पेश गर्नू भन्ने आदेश दिएको पौडेलले बताएका छन् ।

पूर्वमेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) देश दौडाहामा छन् । भावी प्रधानमन्त्रीका रुपमा घोषणा भएपछि बालेन खुसी भएर देशभरि दौडिरहेका छन् ।

Published : Thursday, 2026 January 29, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया