वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्– गगन थापालाई नैतिकताका यी प्रश्नहरू सोध्नुस्

काठमाडौं । वरिष्ठ पत्रकार एवम् सञ्चारकर्मी राजेन्द्र बानियाँले नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग सर्लाही ४ का मतदाताहरूले नैतिकताको प्रश्न गर्न आग्रह गरेका छन् ।

बिहीबार वरिष्ठ पत्रकार बानियाँले सामाजिक सञ्जालमा कांग्रेसका उम्मेदवार थापासँग भृकुटीमण्डपमा विशेष महाधिवेशनको नाममा भएको भेलाको हिसाब किताब बैंकमार्फत सार्वजनिक गर्न आग्रह गरेका छन् ।

बानियाँले लेखेका छन्, ‘फाल्गुण २१ को निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर सुरु गरौं ‘प्रश्न सोधौँ’ अभियान । यो कुनै दल विरोधी अभियान होइन, बरु उम्मेदवार र नेता भन्नेहरूलाई जिम्मेवार बनाउने अभियान हो ।’

‘तपाईहरू पनि उहाँहरूलाई जहाँ भेट्नुहुन्छ, त्यहीँ प्रश्न सोध्नुहोस् । ‘प्रश्न सोधौँ’को आजको प्रश्न नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित कांग्रेस सभापति तथा सर्लाही– ४ का उम्मेदवार गगन थापालाई ।’

‘निर्वाचनको मुखैमा कसको उक्साहटमा कांग्रेसको विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्नुभो ? ३३ सय मान्छे र कुम्भ मेलाको हिसाब सार्वजनिक गर्नपर्दैन ? अनि त्यत्रो पैसा खर्च गर्ने बैंक कता छ ?’ वरिष्ठ पत्रकार बानियाँले भनेका छन् ।

बानियाँले लेखेका छन्, ‘ससुरालाई खस आर्यको समानुपातिकको अग्रस्थान, अर्को ससुरालाई केन्द्रीय सदस्य अनि कान्छो ससुरालाई प्रत्यक्षतर्फको टिकट थमाउँदा तपाईको नैतिकता कहाँ थियो ? विजय गच्छदारलाई पनि टिकट दिएपछि कांग्रेस रुपान्तरणको अभियान पूरा भयो होला नि ? अब रानजीति के का लागि ?

‘भाद्र २३ र २४ को नरसंहार अनि सिंहदरबारदेखि राष्ट्रिय सम्पत्तिमाथिको आगजनीको जिम्मा लिनुहुन्छ ? ओली सरकार सञ्चालनको उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य तपाईं पनि त्यसको दोषी होइन ?,’ वरिष्ठ पत्रकार बानियाँले प्रश्न गरेका छन् ।

‘काठमाडौ–४ का जनता क्षेत्र छोड्दा रोए भन्नुभएछ, तपाईले के त्यस्तो चमत्कार विकास गर्नुभाको थियो जनताको रुवाबासी नै हुने ? अनि के आइपर्‍यो क्षेत्र छोडेर भाग्नुपर्ने ?’ बानियाँले प्रश्न गरेका छन् ।

‘हिजो तनहुँमा उपनिर्वाचनका क्रममा टुरिष्टलाई भोट नहाल्न भन्ने तपाईलाई सर्लाहीका जनताले पनि त्यही भन्नुपर्‍यो नि हैन ?’ गगन थापासँग बानियाँले प्रश्न गरेका छन् ।

‘पपुलिज्मको आयु लामो हुन्न भन्छन् । नेपालमा पपुलिज्मको आडमा उठेको, आफ्नोभन्दा अरुको आलोचना र बदख्वाँईका लागि माहिर र मिडिया म्यानिपुलेसनमा माहिर तपाईंको तालाचाबी नै बाहिर छ भन्छन् । यसको जवाफ छ ?’ वरिष्ठ पत्रकार बानियाँले प्रश्न गरेका छन्, ‘थप सभ्य, तथ्यपरक र मुख बन्द हुने प्रश्न तपाईं थप्नुस् ।’

Published : Thursday, 2026 January 29, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया