सर्वोच्च अदालत जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् ।

बिहीबार कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत गएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गर्ने कार्यक्रम थियो । कांग्रेसका निवर्तमान सांसदहरूले तत्कालका लागि सर्वोच्च जाने कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

प्रधानन्यायाधीश राउतको समय नमिलेका कारण आज बिहीबार सर्वोच्च जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित भएको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन् ।

कांग्रेसले सूचना जारी गरेर विशेष कारणले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको उल्लेख छ । ‘डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका नेता घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए ।

यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बने सर्वोच्च जाने कार्यक्रम थियो । कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनःस्थापनाका लागि रिट दायर गरेका छन् । सर्वोच्चले रिटको सुनुवाइ सुरू गरेको छैन ।

Published : Thursday, 2026 January 29, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया