चिशंखुगढीमा दम्पतीको हत्या, कांग्रेस नेता खतिवडा घटनाप्रति चिन्तित, दोषीलाई कारबाही गर्न माग

सिद्धिचरण । ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ मा दम्पतीको हत्या भएको छ ।

मंगलबार बिहान करिब साढे ७ बजेतिर चिशंखुगढी गाउँपालिका ६ स्थित एक घरमा मृतक करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले हत्या गरेको आशंका प्रहरीले गरेका छ ।

यसैबीच, नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लामा एक पछि अर्को शृङ्खलाबद्ध रुपमा घटना हुनु भनेको राज्य सुरक्षाको हिसाबले कमजोर बन्दै गएको हो ? भनेर प्रश्न गरेका छन् ।

‘फेरि पनि चिशंखुगढी– ६ भदौरे बोहोरे निवासी चन्द्रबिक्रम राई दम्पतीको सोमबार राति लुटपाटपछि हत्या भएको खबर छ,’ खतिवडाले भने, ‘घटनाको गहिरो अनुसन्धान गरि दोषी उपर कडा कार्वाहीको माग गर्दछु ।’

‘घरमा किराना पसल रहेछ । त्यहाँको पैसा राख्ने ठाउँ फुटाइएको छ,’ प्रहरी निरीक्षक भट्टराईले भने, ‘लुटपाटकै लागि भएको देखिन्छ ।’ घरमा दम्पतीमात्रै बस्थे ।

यसअघि पनि ओखलढुङ्गा जिल्लामा दम्पती र अर्का एक जनाको पनि हत्या भएको थियो । प्रहरीका अनुसार पहिले हत्या गरेजस्तै प्रकृतिको घटना देखिएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले लुटपाट र हत्यामा संलग्न गिरोह भन्दै चार जनालाई पक्राउ गरेको थियो ।

तत्कालीन समयमा पक्राउ पर्नेमा ओखलढुङ्गा चिसाङ्ग गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल थिए ।

उनीहरूको समूहले २०८२ पुस १५ गते ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–६ का ६० वर्षीय शोभितमान थापा र श्रीमती ६० वर्षीय रत्नमाया थापा मगरलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।

उनीहरूको हत्या गरेर अन्दाजी १ लाख नगद तथा गहन समेत लुटेको प्रहरीको आरोप छ । सोही समूहले २०८२ असोज २६ गते ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ को ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । हत्यापछि गहना र नगद लुटपाट गरेको आरोप थियो ।

उनीहरूले हत्या गर्नका लागि प्रयोग गरेको बञ्चरो, खुकुरी, गहना गालेर बनाइएको रिंग, बन्दुक, कोदालो, मोवाइल लगायतका सामान प्रहरीले बरामद गरेको थियो । गिरोह नै समातिएको दाबी गरेपछि पनि अर्को दम्पतीको हत्या भएको घटना बाहिरिएपछि थप रहस्यमय बनेको छ ।

Published : Tuesday, 2026 January 27, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया