केएमसी २९ वडा चेसमा प्रकाशचन्द्रको अग्रता

काठमाडौं । प्रथम केएमसी वडा कप खुल्ला फिडे रापिड चेसमा प्रकाशचन्द्र नेपालले अग्रता बनाउन सफल भएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. २९ को आयोजनामा प्रतियोगिता भएको छ । भारतका बीस खेलाडी सहित २३० जना राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको प्रतिस्पर्धामा झापाका प्रकाशचन्द्रले सत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै अग्रता लिएका छन् ।

शुक्रबार सम्पन्न ५ चरणको खेलमा भारतका किसन कुमार र दोलखाका आशिष फुयालले समान ५ अंक जोडेर प्रकाशसँगै संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन् ।

वडाको आफ्नै भवनमा सञ्चालन भइरहेको स्पर्धामा झापाका १९७३ रेटेड राजन सुवेदीले मकवानपुरका २११७ रेटेड एफएम क्षितिज भण्डारीसित बराबरी गर्दै साढेचार अंकका साथ संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् ।

क्षितिजसँगै बाँकेका १९२८ रेटेड एआईएम अभिक शाह, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने, ललितपुरका २०२१ रेटेड सुरज महर्जन, १९११ रेटेड राजन पुरी र भारतका १७७७ रेटेड शशि प्रकाश समान ४.५ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा छन् ।

नेपालका २०२४ रेटेड प्रकाशचन्द्र नेपालले अग्रिम सैंजु, विनय राई, सुरज सिंह, सुभनदीप र प्रेम खड्कालाई पाखा लगाएका छन् ।

भारतका १९०९ रेटेड खेलाडी किसन कुमारले अरिज राई, कसिभ कार्की, राजनारायण यादव, प्रतिक सुवेदी र सिएमए सुश्रुत दाहाललाई पन्छाएको छन् ।

नेपालका २०६९ रेटेड खेलाडी आशिष फूँयालले नेलिसा ओझा, आशानारायण लवट, महेश्वरलाल डंगोल, स्पर्श यादव र सुजन काफ्लेलाई पराजित गरेका छन् ।

२३ जना शीर्ष खेलाडीहरू समान ४ अंक बनाएर उपाधि होडमा रहेका छन् । प्रतियोगितापूर्व काठमाडौं २९ वडा सदस्य सन्तोष ढुंगेलको सभापतित्वमा प्रमुख अतिथि २९ नम्बर वडाध्यक्ष कुश ढकालले खेलाडीहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

वडाध्यक्ष ढकालले दुई दिन सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीहरूलाई हालसम्म कै सर्वाधिक नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए ।

संयोजक सन्तोष ढुंगेलका अनुसार विजेता खेलाडीले नगद पुरस्कार रु. ३५ हजार, द्वितीयले रु. ३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु. २० हजार प्राप्त गर्ने छन् ।

पाँचौंस्थानदेखि सातौंस्थानसम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन् । आठौंदेखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौंदेखि पन्ध्रौंसम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन् ।

उत्कृष्ट महिला विधातर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन् । बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ ।

उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेलाई पनि नगर पुरस्कार प्रदान गरिने बताए ।

Published : Friday, 2026 January 23, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया