कांग्रेसले दियो निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

आइतबार कार्यबाहक सभापति खड्काको नेतृत्वमा निर्वाचन आयोगको निर्णय खारेजीको माग गरेर सर्वोच्च अदालतमा रिट निवेदन दिइएको वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले पत्रकारहरूलाई बताएका छन् ।

गगन थापा समूहलाई निर्वाचन आयोगले गत शुक्रबार नेपाली कांग्रेस जिम्मा लगाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले बहुमतको आधारमा नेपाली कांग्रेसलाई अन्यायपूर्णरुपबाट अर्को समूहलाई दिएको भन्दैै नेपाली कांग्रेसका कार्यबाहक सभापति खड्काले विरोध गर्दै आएका छन् ।

गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली कांग्रेस उक्त निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको छ ।

गगन थापा समूहले विधि विधानविपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको भन्दै नेपाली कांग्रेसका कार्यबाहक सभापति खड्कासहितका कार्यसमितिले उक्त महाधिवेशन अवैधानिक भन्दै आएको छ ।

नेपाली कांग्रेसका कार्यबाहक सभापति खड्काले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने बताएका छन् ।

सर्वोच्च अदालत प्रशासनमा रिट पेस भएपछि कानूनी रित र प्रक्रिया मिले÷नमिलेको विषयमा अध्ययन गरिन्छ । रित पुगेको अवस्थामा संविधान र कानून अनुरुप रिट दर्ता प्रक्रियामा जान्छ ।

प्रधानन्यायाधीशले अति जरुरी ठानेमा रिट दर्ता भएकै दिन पनि इजलास गठन गर्न सक्दछन् । तत्काल एकल इजलासबाटै अन्तरिम आदेश जारी भएर आयोगको निर्णयमाथि रोक लगाइदिन पनि सर्वोच्च अदालतले सक्छ ।

उता, निर्वाचन आयोगल प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने गरी कार्यक्रम प्रकाशन गरेको छ । माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने कार्यतालिका छ ।

Published : Sunday, 2026 January 18, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया