गगन थापा समूहको एकलौटी कुरा सुनेर आयोगले पार्टी सम्पिएको खुलासा, कांग्रेसलाई औपचारिक छलफलमै बोलाएन

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेससँग एक पटक पनि औपचारिक छलफल नगरेर गगन थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेस पार्टी सुम्पिएको खुलेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोगले सुनुवाईको मौका समेत नदिएको बताए । कांग्रेसको विवाद देखिएपछि आयोगले औपचारिक रुपमा आफूहरूलाई नबोलाएको र कागजपत्र पनि माग नगरिएको उनले बताए ।

गगन थापा समूह आयोग पुगेर नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व र कार्यसमिति परिवर्तन गर्न लागेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएपछि आफूहरू कागजपत्र लिएर आफै आयोग पुगेको डा.महतले बताए । आयोगको निर्णयविरुद्ध अब सर्वोच्च अदालतमा सुनुवाई हुने उनले बताए ।

कांग्रेस प्रवक्ता डा.महतले भने, ‘भोलि हामी यसको खिलापमा सर्वोच्च अदालतमा जान्छौं । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाइकन, हाम्रो पक्षलाई बोलाएर शून्य औपचारिकता पनि उहाँहरूले पूरा गर्नुभएन ।’

‘यो नजिर, हाम्रो विधान, निर्वाचनसम्बन्धी व्यवस्था छ, यो कुनैको पनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ,’ कांग्रेस प्रवक्ता डा.महतले भने, ‘यो अन्यायपूर्ण दुषित मनसायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालतले आफ्नो अन्तिम सुनुवाई गर्ने ठाउँ हो ।’

नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्थाविरुद्ध गरिएको कांग्रेसले ठहर गरेको छ ।

‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य बैधानिकता उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्छ,’ डा.महतले भने ।

राजनीतिक दलमा विवाद भएपछि आयोगले दुबै पक्षसँग औपचारिक रुपमा कागजपत्र माग्नुपर्छ । छलफलका लागि पनि बोलाउनु पर्छ । एकपक्षको मात्रै कुरा सुनेर अन्यायपूर्ण निर्णय गर्नु उचित नहुने डा.महतले बताए ।

Published : Saturday, 2026 January 17, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया