निर्वाचन आयोगले ‘हाइज्याकर’लाई दिएको कांग्रेस ल्याउने आइतबार सर्वोच्च जाने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेशको मागसहितको रिट लिएर जाने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आधिकारिता खोसेर गगन थापा नेतृत्वको पार्टीलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्थाविरुद्ध गरिएको ठहर गरेको छ । तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य बैधानिकता उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्छ ।’

‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय समितिलाई अबैधानिक ढंगले परिवर्तन गरि नेपाली कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय प्रष्ट देखिन्छ,’ कांग्रेसका प्रवक्ता डा.महतले भने ।

‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो,’ डा.महतले भने, ‘निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवम् कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ ।’

कांग्रेस प्रवक्ता डा.महतले भने, ‘भोलि हामी यसको खिलापमा सर्वोच्च अदालतमा जान्छौं । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाइकन, हाम्रो पक्षलाई बोलाएर शून्य औपचारिकता पनि उहाँहरूले पूरा गर्नुभएन ।’

‘यो नजिर, हाम्रो विधान, निर्वाचनसम्बन्धी व्यवस्था छ, यो कुनैको पनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ,’ कांग्रेस प्रवक्ता डा.महतले भने, ‘यो अन्यायपूर्ण दुषित मनसायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालतले आफ्नो अन्तिम सुनुवाई गर्ने ठाउँ हो ।’

उनले भने, ‘सर्वोच्च अदालतमा हामी आफ्नो केश प्रस्तुत् गर्छौं । यसको विरुद्धमा जान्छौं । भोलि हामी सर्वोच्च अदालत जाँदै छौं । कानूनी लडाइँ लड्छौं । राजनीतिक रुपमा प्रतिरोध गर्ने विभिन्न त्यसको स्वरुप हुन सक्दछ । त्यसमा हामी छलफल गर्दै छौं ।’

‘न्यायको पक्षमा निर्णय आउँछ भन्ने हामीलाई लागेको छ । सर्वोच्च अदालतले निर्णय दिन्छ भन्ने हामीलाई विश्वास छ । स्टे अडर आउन सक्छ,’ उनले भने ।

‘शेरबहादुर देउवा नेतृत्व र कार्यबाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । यो नै आधिकारिक हो । निर्वाचन आयोगको निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन । त्यस कारणले हामी सर्वोच्च अदालतमा जाँदै छौं,’ डा.महतले भने ।

‘विवादको विषयलाई निर्वाचन आयोगले पनि ध्यान दिने पर्ने थियो । आयोगका पदाधिकारी यो विषयमा कुनै गम्भीरता देखाउनु भएन । नियम कानूनको पनि पालना गर्नुभएन । हाम्रो पक्षको सुनुवाई औपचारिक रुपमा लिने कोशिष पनि गर्नु भएन । हामी आफै पहिला गएर कुरा राख्यौं । जुन उहाँहरूले बोलाउनु पनि भएन,’ डा.महतले भने ।

‘निर्वाचन आयोगकै नियमावली छ । कानूनी व्यवस्था छ । हाम्रो पार्टीको व्यवस्था छ । कुनै कुरालाई पनि ध्यान नदिएको विषय भएको हुनाले सर्वोच्च अदालतबाट न्याय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ प्रवक्ता डा.महतले भने ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता डा.शेखर कोइराला पनि सहभागित थिए । बैठकमा १२३ भन्दा धेरै पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 January 17, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया