पोखरा भ्रष्टाचारमा प्रदीपसहितलाई थुनामा पठाउनुपर्ने माग गर्दै अख्तियार सर्वोच्चमा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।

शुक्रबार आयोगद्वारा सर्वोच्चमा दायर गरिएको मुद्दामा प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भन्ने माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गरेर आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको जनाएको छ । आयोगले भनेको छ, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा गैरकानूनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको छ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रदीप अधिकारी, महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र बाबुराम पौडेलविरुद्ध गत मंसिर २१ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

दायर गरिएको मुद्दामा उनीहरूसँग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ बिगो मागदाबी गरिएको थियो ।

भ्रष्चार मुद्दामा विशेष अदालत काठमाडौंबाट प्रतिवादीहरूमध्येका प्रदीप अधिकारीलाई पाँच लाख रुपियाँ र प्रतिवादी मुरारी भण्डारीलाई एक लाख रुपियाँ धरौटी लिई रिहा गरेको थियो ।

प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारिखमा राख्ने आदेश गरेको थियो ।

Published : Friday, 2026 January 16, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया