कांग्रेसले आयोगमा बुझायो आठ सयभन्दा धेरैको हस्ताक्षर फिर्ताको निवेदनहरू

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा गगन थापा समूहले जबरजस्ती गराएको ८ सयभन्दा बढि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर फिर्ता लिएको निवेदनहरू निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।

शुक्रबार कार्यबाहक सभाति पूर्णबहादुर खड्काको नेतृत्वमा १ सय २३ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचन आयोग पुगेर ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको निवेदनहरू जस्ताको त्यस्तै बुझाइएको हो । कार्यबाहक सभापति खड्काले बुझाएको ती विवरण र निवेदनहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुझेका छन् ।

कांग्रेसका कार्यवाहक सभापति खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् । खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने बताए ।

गगन थापा समूहले पुस २७ गतेदेखि माघ १ गतेसम्म भृकुटीमण्डपमा भेला गरेर गगन थापालाई सभापति बनाएको थियो । गगन थापा नेतृत्वको समूहले नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसले अबैधानिक भेलाको गतिविधिलाई विश्वास नगर्न भन्दै कागजपत्र आयोगमा बुझाएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेताहरू विमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, रमेश लेखक, डा. मीनेन्द्र रिजाल, एनपी साउद, रामहरि खतिवडा, दीपक गिरी, सुजाता कोइराला, जितजंग बस्नेत, लक्ष्मी खतिवडा बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ लगायतका नेताहरू आयोगमा पुगेका थिए ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीको बन्दसूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा अर्को पक्षले कांग्रेसको आधिकारिकता दाबी गरेको कार्यबाहक सभापति खड्काले बताए । उनले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्र रहको बताए ।

खड्काले भने, ‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।’

Published : Friday, 2026 January 16, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया