भृकुटीमण्डप भेलाले कांग्रेसको नेतृत्व परिवर्तन हुँदैन, विधानले नदिएका कुरामा जिद्दि नगरौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेतृत्व भृकुटीमण्डप भेलाका सहभागीहरूसँग सहमति र सम्वादका लागि सकारात्मक रहेको बताएका छन् ।

मंगलबार केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता साउदले भने, ‘सम्वाद र सहमतिका लागि नेतृत्व हमेसा सकारात्मक छ । त्यसमा कुनै तलमाथि छैन । विधानले नदिएका कुराहरूका बारेमा कुनै पनि साथीहरूले जिद्दि गर्नु हुँदैन ।’

नेता साउदले भने, ‘उहाँहरू (गगन थापा र विश्वप्रकाश शर्मा)ले उठाउनु भएका विधानसँग सम्बन्धित मुद्दाहरू छन्, जति पनि कुराहरू छन् त्यसको बारेमा हाम्रो नेतृत्व सकारात्मक छ ।’

‘उहाँहरूले पनि सकारात्मक भएर पार्टी एकतालाई सुदृढ गर्ने किसिमले पार्टीलाई विभाजनबाट रोक्ने किसिमले उहाँहरूले अग्रसरता लिनुपर्छ,’ साउदले भने, ‘अहिलेको त्यो भृकुटीमण्डपको भेला भनेको सकारात्मक रुपमा पार्टीलाई विभाजन नगर्ने गरेर त्यहाँबाट फर्किनुपर्छ भन्ने हाम्रो आशा र विश्वास छ ।’

नेता साउदले कांग्रेसको नेतृत्व परिवर्तन १५औं महाविधेशनबाट मात्रै हुने बताए । उनले कुनै भेलाबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन नसक्ने बताएका छन् ।

‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट हुन्छ । विशेष महाविधेशनबाट होइन । यो बीचमा आन्दोलनहरू भएका छन् । जेनजी आन्दोलन भएका छन् । नयाँ क्रियाशील सदस्यहरू बनेका छन् । कतिपय क्रियाशील सदस्यहरूले नवीकरण गर्नुभएको छ । ती सबैको नेतृत्व गर्ने गरेर, सबैको भावना समेट्ने गरेर देशभरिका साथीहरूले वैशाखको अन्तिम सप्ताहामा काठमाडौंमा भेला भएर महाधिवेशनबाट हामी नयाँ नेतृत्व ल्याउँछौं,’ उनले भने ।

नेता साउदले भने, ‘केन्द्रीय समितिले १५औं महाधिवेशनको तिथिमिति उहाँहरूकै सहभागितामा केही त्यहाँ भएका प्रमुख नेता साथीहरूको सहभागितामा तोकेको हो । त्यसका बारेमा उहाँहरूको प्रस्तुति के छभने ? नयाँ मितिलाई हामीले स्वीकार गर्छौ, स्वागत गर्छौ किन भने गिभन टाइमभित्र महाधिवेशन गर्न सकिदैन भनेर वक्तव्य निकालेर पुसको २६, २७ र २८ गते तोकिएको महाधिवेशनलाई स्थगित उहाँहरू आफैले गर्नुभएको हो ।’

‘स्थगित गरिसकेपछि मिति तोक्ने बैठकमा पनि उहाँहरू हुनुहुन्थ्यो । नियमित महाधिवेशन स्थगित भइसकेपछि उहाँहरूले बोलाउनुभएको भेलाभन्दा ज्यादा हुन सक्दैन,’ नेता साउदले भने ।

Published : Tuesday, 2026 January 13, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया