कांग्रेस बचाउन सभापतिले पठाए गगनसँग वार्ता गर्न प्रतिनिधि, पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी विभाजन हुन नदिन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न प्रतिनिधि पठाएका छन् ।
सोमबार महाराजगञ्जस्थित निवासमा सभापति देउवाले कार्यबाहक सभापति, पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय केन्द्रीय सदस्यहरूसँगको छलफलपछि महामन्त्रीद्वय थापा र शर्मासँग सम्वाद गर्न प्रतिनिधि पठाएका हुन् । थापा र शर्मासँग सम्वाद गर्न नेता रमेश लेखकसहितको टोली गएको छ ।
सभापति देउवासँगको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने, ‘महामन्त्रीहरूसँग सम्वाद गर्ने कुरामा सभापति सकारात्मक हुनुहुन्छ । वार्ता भेला भएको ठाउँमा हुँदैन ।’
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन माग गरेको भएता पनि सोही मितिमा नियमित महाधिवेशनको मिति तय भइ केही कार्यक्रम अगाडि बढेको र जनसम्पर्क समितिहरूको करीव करीव ७÷८ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन भइसकेको र नेपालभित्र केही वडा अधिवेशन सर्वसम्मत भइसकेको परिपेक्षमा विशेष महाधिवेशन गरेर अन्य कुराहरूको असमझदारी काम गर्नु भनेको हुँदा यसलाई त्यसरी बोलाइएको महाधिवेशनलाई पनि कसरी सुरक्षित ढंगबाट अगाडि बढाउन सकिन्छ भन्ने छलफल भएको हुनाले त्यहाँ जाँदा सभापति प्रमुख अतिथि भएर जाने हो । उहाँ (सभापति)ले कार्यबाहक दिइसक्नुभएको छ,’ नेता विश्वकर्माले भने ।
‘हिजोको कार्यक्रममा प्रमुख अतिथि भएर नगइसकेपछि त्यो च्याप्टर बन्द भइसक्यो । बन्दसत्रलाई कसरी सर्थक तुल्याउने कसरी विधिसम्मत तुल्याउने र कसरी टुंग्याउने भन्नेमा समस्या भएको हुनाले त्यसलाई टुंग्याउनको लागि सभापति, कार्यबाहक सभापति र अन्य पदाधिकारीहरूसहितका शीर्ष नेताहरूका बीचमा पनि छलफल भएको छ,’ उनले भने ।
‘आकस्मिक रुपमा भन्नुस् या व्यवस्थित रुपमा भन्नुस् विश्वासिलो र भरपर्दो ढंगबाट महामन्त्रीहरूसँग सम्वाद गर्ने, सम्वादको सकारात्मक निर्णय लिल्ने सहमति भएको छ । सम्वाद आजै हुन्छ,’ उनले भने ।
‘पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गरेर बोलाएको भए त्यो नियमित विशेष महाधिवेशन हुन्थ्यो । वैधानिक सम्मत हुने थियो । त्यो नियमित महाधिवेशन पनि भएन । त्यसले विशेष महाविधेशनको बैधानिकता पनि पाएन,’ विश्वकर्माले भने ।
‘यस्तो बेलामा कतै पार्टी अफ्ठ्यारोमा त पर्ने होइन ? विभाजन त हुने होइन ? भन्ने आशंका व्यापक रुपमा उत्पन्न भएपछि सभापतिले पार्टीलाई व्यवस्थित गर्नका लागि, साथीभाइहरूसँग सबैसँग परामर्श गर्नका लागि र पार्टीलाई संकटकालीन अवस्थामा एकढिक्का कसरी राख्न सकिन्छ ? भनेर पार्टी सभापतिले केन्द्रीय कार्यसमिति उपलब्ध बहुसंख्यक साथीहरूसित केन्द्रीय सदस्यहरू, पदाधिकारीहरू, पूर्वपदाधिकारीहरूसँग परामर्श गर्नुभयो,’ उनले भने ।
‘हामी सबैले एकस्वरमा सबै प्रदेशका साथीहरूले हामी पनि छलफल ग¥यौं । प्रदेश प्रदेश पनि छलफल ग¥यौं । एक्लाएक्लै पनि छलफल ग¥यौं । पार्टीलाई एकरुपता दिनको लागि, एकढिक्का राख्नको लागि सभापति, कार्यबाहक सभापति र पदाधिकारीहरूले जे जे पहल गर्नु हुन्छ सम्वादका माध्यमबाट पार्टीलाई एकता बरकरार राख्नको लागि सबैलाई मिलाएर लैजानको लागि लचकता अपनाउनका लागि र अरुसँग पनि थप विश्वासिलो भरपर्दो सम्वाद गर्नको लागि हामी सबैले अनुरोध गरेका छौं,’ उनले भने ।
‘चरणबद्ध रुपमा छलफल गर्दै हुनुहुन्छ । उहाँहरूले हामी सबैको परामर्श लिइरहनु भएको छ । सबै प्रदेशका सबै तहका नेता साथीहरूको त्यसैले निष्कर्ष त मनन गर्ने कुरा हो । हामीलाई छलफलपछि के विश्वास छभने जो साथीहरूले भृकुटीमण्डपमा विशाल भेला बोलाउनुभएको छ,’ उनले भने ।
‘महाधिवेशन प्रतिनिधिहरू आउनुभएको छ । त्यसलाई विशेष महाधिवेशनको रुप दिन कोशिष गर्नुभएको छ । त्यो विधान सम्मत भएन । त्यो पार्टीको औपचारिक निर्णयअन्तर्गत परेन । त्यस्तो परिस्थितिमा पनि भेला भएका साथीहरूको उपस्थित भएका साथीहरूको सम्मानमा पार्टीका साथीहरूको मान, सम्मानका लागि त्यसलाई कसरी शान्तिपूर्ण ढंगबाट निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने छलफल हो,’ विश्वकर्माले भने ।
‘त्यसको निष्कर्ष भनेको पार्टी एकता हो । पार्टीलाई बैधानिक रुपले अगाडि बढाउने हो । त्यो बढाउनको लागि सभापति र कार्यबाहक सभापति लगायत पदाधिकारीहरूले सम्बन्धित विशेष महाधिवेशनको नाममा भएको कार्यक्रममा भेला हुनुभएको छ, उहाँहरूसँग सम्वाद गर्ने भन्ने निष्कर्ष हो,’ उनले भने ।
‘सम्वाद गर्ने विषयमा महामन्त्रीहरूलाई सन्देश गइसकेको छ । महामन्त्रीहरू पनि सकारात्मक हुनुहुन्छ । उहाँहरू पनि पार्टीलाई विभाजन गर्ने मनसायमा हुनुहुन्न,’ उनले भने ।
‘पदाधिकारीहरू पनि पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ यो भेला बोलाउनुभएको हो । दुबै पक्ष पार्टीमा एकता कायम गर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने ।
‘त्यहाँ जे जे प्रक्रिया अगाडि बढेको छ । त्यसलाई विधिवत ढंगबाट टुंगाउने र टुंगिदै गर्दा पार्टी सिङ्गो रहने र सबै साथीहरूको मत मात्रै होइन मन पनि एकता हुने गरिकन अगाडि बढ्ने भन्नेछ,’ नेता विश्वकर्माले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया