सभापति, प्रधानमन्त्रीले मलाई लोभ्याउँदैन, विधि र नीतिमा ध्यान दिनुस् : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई संयमित भएर पार्टी एकतामा केन्द्रित हुन अपील गरेका छन् ।
आइतबार भिडियो सन्देश जारी गर्दै नेता डा.कोइरालाले भने, ‘आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू तपाईहरू पार्टीको धरोहर हुनुहुन्छ । तपाईहरू विधिको प्रभावकारिता, नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनुभएको छ । पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ ।’
‘त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहाँसिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ,’ डा.कोइरालाले भने, ‘यो कार्यका लागि मैले केही दिनदेखि भगिरथ प्रयास गरिरहेको छु । जबसम्म निकास निस्कदैन तबसम्म प्रयास गरिररहनेछु ।’
डा.कोइरालाले भने, ‘वीपीको मेलमिलाप कुनै कानूनको पन्नाबाट निस्केको थिएन । न कांग्रेसको विधान नेपालको संविधानमा थियो ।’
‘वीपीको अन्तरआत्माको आवाज थियो । नेपालीजनको आवाज थियो । म एक्लो भए पनि वीपी, सुर्वण, गणेशमान, किशुनजी, गिरिजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिन्हबाट बिचलित हुने छैन,’ उनले भने ।
‘यो पदचिन्ह भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो । जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए । के हामी सबै कांग्रेस मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ ? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा सर्मथक र शुभेच्छुक चिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदाय पनि हामी एकताबद्ध भएर हिँडेको हेर्न नचाहेका होलान र ?,’ डा.कोइरालाले भने ।
‘म सधैं विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस भन्ने कुरामा संघर्षरत रहेँ । मेरो लड्ने तरिका शान्त र मधुरो थियो । मेरो कैयन शैलीहरूसँग साथीहरू असहमत भएको म बुझथें । तर, पनि म कांग्रेसको रुपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन,’ उनले भने ।
‘मेरो निजी महत्वकांक्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन । यस्ता अवसरहरू आए तर, मैले रुचि देखाइन्,’ नेता डा.कोइरालाले भने ।
‘सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन । मैले मेरो परिवारबाट पाएको यहि शिक्षा मेरो जीवन दर्शन हो । म यहि जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु । र, उठाइ रहनेछु,’ उनले भने ।
‘यस क्रममा मैले सभापति शेरबहादुर देउवाको कार्यशैली लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ । जो उर्जावान र जोशिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्,’ उनले भने ।
‘मलाई थाहा छ । कांग्रेसमा विधानमा के छ ? के हुनुपर्छ ? मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रुपमा राखेको छु । मैले धारणा राख्दा कांग्रेसमा कुनै कतै कुनाबाट विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाभ नहोस् भनी सतर्क थिएँ,’ उनले भने ।
‘मलाई यो पनि थाहा छ । कांग्रेस संक्रमणमा पर्दा कसरी ? कसले त्याग र अपमान सहनु पर्छ भनेर । म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहनेछु,’ डा.कोइरालाले भने ।
पार्टीको विधान विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक गतिविधि गर्दै विशेष महाधिवेशनको नाममा काठमाडौंमा आइतबारदेखि भेला बोलाएका बेला नेता डा.कोइरालाले आफ्नो असहमति प्रकट गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माको अबैधानिक भेलालाई नेता डा.कोइरालाले अस्वीकार गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया