विशेष महाधिवेशनको नाममा ‘गगन दाई’का भाइहरूको चन्दा आतंक, कांग्रेस फुटाउन कहाँबाट आयो रकम ?

काठमाडौं । नेपाली कांग्रेसको विधान विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा बोलाएको विशेष महाविधेशनका लागि भन्दै धमाधम चन्दा रकम उठाएको खुलासा भएको छ ।

महामन्त्री थापा र शर्माका समर्थक तथा सचिवालयका सदस्यहरूले आफू निकटका जनप्रतिनिधिहरू, व्यापारी लगायतसँग चन्दा रकम उठाएको आरोप लागेको छ । काठमाडौंका एकजना व्यापारीले महामन्त्री थापाको नाम लिएर सचिवालय चलाउन पैसा चाहियो भनेर ठूलो रकम माग गरिएको गुनासो गरेका छन् । व्यापारीहरूले महामन्त्री थापाको विशेष महाधिवेशन कहिले सकिन्छ भनेर प्रश्न गर्न थालेका छन् ।

जिल्ला–जिल्लामा पनि त्यही हालत छ । गगन दाईको विशेष महाधिवेशनमा जाने हो भन्दै विभिन्न व्यक्ति र व्यापारीहरूसँग चन्दा रकम उठाएको गुनासाहरू आएका छन् । गाडी भाडा, खानपिन, होटल भाडा, दारुपानी आदिका लागि महामन्त्री थापाको नाममा ठूलो रकम चन्दा संकलन भएको छ ।

महामन्त्री थापालाई ब्याकबाट कसले दियो ? पैसा भनेर प्रश्नहरू समेत उठिरहेका छन् । बारबरा फाउण्डेशन र अमेरिकनहरूसँग निकट रहेको आरोप लागेका थापालाई प्रयोग गरेर अदृष्यशक्तिहरूले कांग्रेस फुटाउन उचालेको भनेर टिकाटिप्पणी भइरहेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा झण्डै एक करोड रुपियाँ खर्च गरेर मञ्च बनाउनेदेखि हलको व्यवस्थापन गरेका छन् । खानपिनमा खसी र कुखुराको मासुसहितको व्यवस्था छ । विशेष महाधिवेशनको नाममा कम्तिमा पनि दश करोड खर्च हुने अनुमान सचिवालयका एक सदस्यको भनाइ छ ।

होटलमा बस्ने व्यवस्था, खानपिन, मासुभात, दारुपानी, सवारी साधन आदिमा ठूलो रकम खर्च भएको छ । त्यो रकम कहाँबाट आयो स्रोत भनिएको छैन । अधिकांश रकम महामन्त्री थापा आफैले व्यवस्थापन गरिदिएका हुन् ।

विशेष महाधिवेशनको नाममा स्थापना भएको सचिवालय र हस्ताक्षर अभियानमा हिँडेका नेताहरूले राम्रो रकम संकलन गरेका छन् । त्यसको हिसाव किताब छैन ।

कथित विशेष महाधिवेशन सम्पन्न भयो भने आयोजकका तर्फबाट निकै कम रकमको तथ्याङ्क दिइनेछ । महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिबाट शुल्क लिइएको भनेर जवाफ आउनेछ ।

अहिलेसम्म बेहिसाले संकलन गरिएको चन्दाका विषयमा जवाफ चित्त बुझ्ने गरी आउने छैन । महामन्त्री थापाको विशेष महाधिवेशनको नाममा खर्च भइरहेको बेहिसाव रकम कहाँबाट आयो ? कसले दिइरहेको छ ? गम्भीर प्रश्न उठेको छ ।

विधानले नदिएको अधिकार प्रयोग गरेर महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलसहितका नेताहरू कांग्रेस विभाजन गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न लागेका छन् । उनीहरूले भृकुटीमण्डमा मानिस धेरै उतार्ने छन् । तर, महाधिवेशन प्रतिनिधि उनीहरूले भनेअनुसार ५४ प्रतिशत उपस्थिति हुने छैनन् । आउने सबै नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधि महामन्त्रीद्वयको रमिता हेर्न आउनेहरू पनि हुनेछन् ।

Published : Saturday, 2026 January 10, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया