कांग्रेस विभाजन गर्न गगन–विश्वले बोलाएको विशेष महाधिवेशनको विपक्षमा उभिए ५ प्रदेश र ४७ जिल्ला सभापतिहरू

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरू र जिल्ला सभापतिहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाविधेशनको विपक्षमा उभिएका छन् ।

५ प्रदेशका सभापति, प्रदेशका दुई उपसभापति र ४७ जिल्ला सभापतिहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उनीहरूले संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

मुलुकमा विकसित राजनीतिक घटना, आसन्न प्रतिनिधिसभा निर्वाचन, सुरक्षा संवेदनशीलताजस्ता गम्भीर राजनीतिक परिस्थितिमा राजनीतिक निकासका लागि एकतावद्ध भएर कांग्रेसले मुलुकमा देखिएका चुनौती सामना गर्नु अहिलेको आवश्यकता रहेको प्रदेश र जिल्ला सभापतिहरूले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रीय रुपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं ।’

पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औं नियमित महाधिवेशन कार्यतालिका (२८–३१ वैशाख) निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा रहेको उनीहरूले बताएका छन् ।

‘विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत् पार्टी विभाजनबाट वचाउन केन्द्रित हुन आवश्यक छ,’ सभापतिहरूले भनेका छन् ।

Published : Saturday, 2026 January 10, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया