मीनजीलाई मैले मन्त्री बनाएँ, उहाँले मन्त्री छोडेर मलाई मुख्यमन्त्री बनाउनुभयो : ईन्द्र बानियाँ
चापागाउँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बनियाँले तत्कालीन युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनका कारण आफू मुख्यमन्त्री बनेको बताएका छन् ।
शुक्रबार ललितपुरको गोदावरी नगरपालिका, चापागाउँमा आयोजित ७औं वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पूर्वमन्त्री महर्जन बचनको पक्का भएको बताए । आफूले मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्री बनाए पनि आफूलाई पनि मुख्यमन्त्री बनाउन महर्जनको प्रमुख योगदान रहेको उनले बताए ।
मुख्यमन्त्री बानियाँले भने, ‘मीनजी पनि बचनको पक्का मान्छे । उहाँले वीर गणेशमान सिंहको स्मृतिमा आज निरन्तर सात वर्षदेखि खेलाइरहनु भएको छ । विभिन्न खेलका खेलाडीहरूको उत्साह जोगाउन । स्थानीयबासीलाई खेलको उत्सवको रुपमा प्रतियोगिता गरेर मनोरञ्जन गराइरहनु भएको छ । गोदावरी नगरपालिकाले निरन्तर साथ दिएको छ । यसको लागि नगरपालिकाको मेयर लगायतको टिमलाई सम्मान व्यक्त गर्न चाहन्छु ।’
‘मीनजी लौह पुरुष वीर गणेशमान सिंह हाम्रो नेता । बिचार र व्यवहार दुबै कुराले संघर्षशील, समस्यासँग जुध्ने, त्याग र बलिदानको समर्पणको रुपमा जसरी गणेशमान आफूले प्रधानमन्त्री पाउँदा पनि छोड्ने, पार्टीको लागि, आफ्नो देशको लागि र एकताको लागि देशलाई प्रजातन्त्र प्राप्तको सहजताको वातावरण बनाउनको लागि लागि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पद छोडिदिनुभयो,’ बानियाँले भने ।
बानियाँले भने, ‘तपाईहरूलाई आज मैले भन्न खोजेको मीनकृष्ण महर्जनलाई मैले नै उहाँलाई मन्त्री बनाएको हो । उहाँले आफूले मन्त्री छोडेर मलाई मुख्यमन्त्री बनाएर आज उर्मिला नेपाललाई मन्त्री बनाउन उहाँले आफ्नो मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री र मन्त्री बनाउनु भएको छ । उहाँकै देन र उहाँकै भूमिमा आएर सम्मान गर्न चाहन्छु ।’
‘उहाँ पदको लागि होइन । राजनीति र खेलमा पद्धति र सिस्टमको लागि लडाइँ लड्नुभयो । खेललाई उहाँले निरन्तरता दिनुभयो,’ बानियाँले भने, ‘राजनीतिमा पद होइन मन मिल्ने समूह हुन्छ, बिचार हुन्छ । विचारभित्र नेतृत्वसँगको हार्दिका सम्बन्ध हुन्छ । राजनीति भनेको धैर्यता, त्याग हो, निरन्तरता हो । जीवनमा मानिस हडबढायो भने मान्छे कहिँन कहिँ दुर्घटनामा पर्छ । कहिँन कहिँ घटना व्यहोर्नुपर्छ ।’
नेपाली कांग्रेसबाट बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री महर्जनका कारण चापागाउँको प्रहरी वृत्तको भवन बनाउन बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट ५० लाख रुपियाँ दिन लागेको बताए । अन्य प्रहरी चौकीलाई १० देखि २० लाखसम्म दिए पनि मीनकृष्ण महर्जनका कारण चापागाउँ प्रहरी वृत्तका लागि ५० लाख दिन लागेको उनले बताए ।
‘चापागाउँको प्रहरी वृत्त छ । हामी आएर निरीक्षण गरेका छौं । डीएसपीले भवन बनाउन व्यवस्थित गराउन रकम माग गर्नुभएको छ । ५० लाख रुपियाँ आउँछ । दुईचार दिनमा पैसा आउँछ । विपत व्यवस्थापनबाट पठाएका छौं । मीनकृष्णजीको कारणले चापागाउँ प्रहरी वृत्तमा ५० लाख पठाउने निर्णय गरेका छौं । अरु चौकीहरूमा १० लाख २० लाख पठाएका छौं । चापागाउँमा ५० लाख पठाउने व्यवस्था गरिएको छ,’ मुख्यमन्त्री बानियाँले भने ।
उनले भने, ‘बागमती प्रदेशको खेल महोत्सव गर्ने भन्ने भएको छ । बागमती प्रदेश र अन्तर प्रदेश अर्थात् सबै प्रदेशलाई बागमती प्रदेशमा ल्याएर एउटा ललितपुरमा गर्ने, एउटा प्रदेशको राजधानीमा गर्ने भन्नेछ ।’
‘अहिलेको युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल र पूर्वमन्त्री मीनकृष्ण महर्जनको सक्रियतामा मन्त्रीजीले साथ र सहयोग गरेर बागमतीलाई खेलकुदको महोत्सवको रुपमा सात प्रदेशका खेलाडीहरू उपस्थित गराएर ठूलो खेल महोत्सव गर्ने तयारी छ,’ मुख्यमन्त्री बानियाँले भने ।
उनले गोदावरी नगरपालिका र प्रदेश सरकार मिलेर गाउँका युवाहरूलाई खेलसँगसँगै विभिन्न आयआर्जनसँग अगाडि बढाउने बताए । ‘गोदावरी नगरपालिकामा कभर्ड हल बनाउने कुरा छ । मीनजीले आफू मन्त्री हुँदा कभर्ड हल, रंगशाला बनाउन ९ करोड रुपियाँ हाल्नुभएको छ । त्यो रंगशाला बनाउन आउँदो माघ महिनाभरि लाग्दैन । टेण्डर हुन्छ । ४९ करोडको बहुवर्षी टेण्डर हुने गरी निर्माणको तयारीमा छ । रंगशाला बन्छ । त्यो यो योगदान मीनजीको हो,’ बानियाँले भने ।
यसैबीच, मुख्यमन्त्री बानियाँले ७औं वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताका क्रममा पूर्व खेलाडीसहित वडाध्यक्षलाई सम्मान गरेका छन् । बानियाँले गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष मिलन सिलवाललाई सम्मान गरेका हुन् । सिलवाल पनि पूर्व खेलाडी हुन् ।
मुख्यमन्त्री बानियाँले करातेका पूर्व खेलाडी कविन चित्रकारलाई पनि सम्मान गरेका छन् । सम्मानित हुनेमा करातेका पूर्व राष्ट्रिय खेलाडी एवम् चन्द्र भैरब मंका खलका अध्यक्ष विशालमान श्रेष्ठ पनि रहेका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर किकबक्सिङ संघले प्रतियोगिताको आयोजना गरेको छ । वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रव्यापी प्रतियोगिताको परिकल्पनाकार पूर्वमन्त्री महर्जन हुन् । खेलाडी पृष्ठभूमिका महर्जनले ललितपुर जिल्लाका खेलाडीहरूलाई समेटेर प्रतियोगिता गर्दै आएका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले मुख्यमन्त्री बानियाँलाई मायाको चिनो समेत प्रदान गरेका छन् । शुक्रबारदेखि शुरु भएको प्रयोगिता आइतबार सम्पन्न हुनेछ । किकबक्सिङको यो प्रतियोगिता राष्ट्रियस्तरमा सबैभन्दा ठूलो राशीको मानिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत देशभरिबाट विभिन्न क्लव र टिमहरू प्रतियोगितामा सहभागी भएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया