कांग्रेस नेता एवम् पूर्वमन्त्री दाहालको निधन, रामहरि खतिवडाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार नेता दाहालको निधन शुक्रबार साँझ काठमाडौंको वीर अस्पतालमा उपचारका लागि लैजाने क्रममा निधन भएको हो । दाहाल केही समयता अस्वस्थ रहेका थिए ।
दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमै उपचारार्थ रहेको कांग्रेस नेता एवम् निवर्तमान सांसद खतिवडाले बताए । दाहालका छोरा डा.सुधांशु दाहाल र हिमांसु दाहाल छन् ।
नेता दाहालको दाहासस्कार पशुपति आर्यघाटमा शनिबार पुस २६ गते बिहान गरिनेछ । मैतीदेवी नजिक (धोवीखोला) स्व.दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम छ । त्यसपछि ०९.३० पछि पशुपति आर्यघाटमा लगिने कार्यक्रम रहेको खतिवडाले बताए ।
दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार, वीपी विचारका सच्चा अभियन्ता, ओखलढुङ्गा जिल्लाका पूर्व सांसद, पूर्वमन्त्री, नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका थिए ।
दाहालको निधनप्रति कांग्रेस नेता खतिवडाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया