गगन–विश्वको गतिविधिले कांग्रेस फुट्ने भन्दै संस्थापन निकटका नेताहरू चिन्तित, संयमित बन्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन निकटका केन्द्रीय सदस्यहरूले पार्टीका विधान विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले व्यक्तिगत रुपमा आह्वान गरेको विशेष महाधिवेशनले पार्टी विभाजन हुने निष्कर्ष निकालेका छन् ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा भेला भएका संस्थापन निकटका नेताहरूले विशेष महाविधेशनको नाममा हुन लागेको अबैधानिक भेलालाई रोक्नुपर्ने निष्कर्ष निकालेका छन् । १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसकेको अवस्थामा व्यक्तिगत र पदाधिकारीलाई विशेष महाधिवेशनका नाममा अबैधानिक गतिविधि गर्ने छुट नरहेको नेताहरूले बताएका छन् । आजको आवश्यक्ता फागुन २१ को निर्वाचन र वैशाखमा हुने १५औं महाधिवेशन रहेको नेताहरूले बताए ।
भेलालाई नेता कृष्णप्रसाद सिटौलासहितका नेता सम्बोधन गरेका छन् । नेता सिटौलाले अहिले विशेष महाधिवेशनको आवश्यक्ता नरहेको बताए । उनले विशेष महाधिवेशनको नाममा पार्टीभित्र निर्वाचनको बेला खैलाबैला भएको बताए । विशेष महाधिवेशन आह्वानकर्ताहरूलाई संयमित भएर जान नेता सिटौलाले सुझाव दिएका छन् ।
भेलामा केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, एनपी साउँद, वीरबहादुर बलायर, रामहरि खतिवडा, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, लक्ष्मी खतिवडा, रुपा विक, शान्ति परियार विक, सरस्वती बजिमय, किरण पौडेल, उर्मिला थपलिया, मदनकृष्ण श्रेष्ठ, गंगा अवाल, गणेश लामालगायतको पनि उपस्थिति रहेको थियो ।
उनीहरूले विशेष महाधिवेशन आयोजना गर्दा कांग्रेस विभाजन हुने निष्कर्ष निकालेको भेलामा सहभागी केन्द्रीय गुरु बरालले बताएका छन् ।
भेलापछि पत्रकारहरूसँग कुरा गर्दै नेता बरालले पार्टी विभाजन गरेर कांग्रेसलाई कमजोर बनाउने क्रियाकलाप भइरहेको बताए ।
‘भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो,’ नेता बरालले भने ।
भेलाले विशेष महाधिवेशन पक्षधरलाई पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निर्णय भएको बरालले बताएका छन् ।
महामन्त्री थापा र शर्माले व्यक्तिगत स्वार्थका लागि १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा पार्टीको विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेका छन् । उनीहरूको यो अनुशासनहीन कार्यले गर्दा कांग्रेस विभाजनको संघारमा पुगेको छ ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीका नेताहरूविरुद्ध जथाभावी बोल्नेदेखि चरित्रहत्याका गतिविधि गरिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया